भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा चेम्बरको माग

0
Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने माग गरेका छन् ।

७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा चेम्बरमा आयोजित एक कार्यक्रममा अध्यक्ष मल्लले भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने बताउँदै भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष मल्लले भने, ‘भन्सार प्रक्रीयालाई सहजीकरण एवं सवै भन्सारहरुमा उच्चस्तरीय क्वारेन्टीन ल्यावको व्यवस्थापन गरिनुपर्दछ, ।’

आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने उनको भनाई थियो।व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपालको खुला सीमाका कारण चोरी पैठारी बढीरहेको र यसको नियन्त्रणका लागि भन्सार प्रशासन चनाखो हुनुपर्ने मल्लले बताए । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पूरा गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड छ ।

कार्यक्रममा राजश्व सचिव घिमिरेले अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेको बताए । व्यापारमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र तर्फ जानुपर्ने र यसका लागि सहजीकरण गर्ने काम भईरहेको उनको भनाई छ ।

भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ । सो अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव राम प्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरेका हुन् ।

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।