विकास ऋणपत्रको ब्याजदर ५ प्रतिशत विन्दुले घट्यो, आन्तरिक ऋणको लागत घट्दो

0
Shares

सरकारले विकास निमार्णका लागि लिने आन्तरिक ऋणको ब्याज ५ प्रतिशत विन्दुले घटेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै कर्जाको माग बढ्न नसक्दा ब्याजदर घटेको हो ।

नेपाल राष्ट्र बैंकले सरकारका लागि विकास ऋण संकलनका लागि बिहीबार जारी गरेको विकास ऋणपत्रको कटअफ रेट ५.८४ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो १४ महिनाको अवधिमा विकास ऋणपत्रको कटअफ रेट ४.८ प्रतिशत विन्दुले घटेको हो । यसभन्दा अघि २०७९ मंसिर १३ गतेको ऋणपत्रको कटअफ रेट १०.६४ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षमा मूल्य वृद्धि नियन्त्रणका लागि केन्द्रीय बैंकले ब्याजदर बढाएको थियो । त्यसका साथै बैंक तथा वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव हुने तथा निक्षेपको खोसीने भएपछि ब्याजदर बढाएका थिए । साथै अघिल्लो आर्थिक वर्ष अधिक कर्जा लगानीले बैंकहरुको कर्जा निक्षेप अनुपातमा दबाब परेपछि निक्षेप बढाउनु पर्ने अवस्था आयो । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाए । निक्षेपको ब्याजदर बढेपछि विकास ऋणपत्रको ब्याजदर पनि दोहोरो अंकमा पुगेको थियो । विकास ऋणपत्र, ट्रेजरी बिल्स, अन्तर बैंक लगायतका अधिकासं दरहरु दोहोरो अंकमा पुगेका थिए ।

तर, केन्द्रीय बैंकले कर्जा लगानीमा गरेको नियन्त्रणले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्न थाल्यो । त्यसका साथै कर्जा प्रबाह गर्ने सन्दर्भमा पनि केन्द्रीय बैंक कडा भएसंगै अर्थतन्त्रमा देखिएको मन्दीका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग आउन छाड्यो । कर्जाको माग घटेसंगै निक्षेप बढ्ने क्रम बढेपछि अधिक तरलताको अवस्था बन्यो । वित्तीय प्रणालीमा अधिकत तरलता भएसंगै सरकारलाई आन्तरिक ऋण उठाउने लागत समेत घट्दै गएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक दर एक प्रतिशत भन्दा तल झ्रयो । त्यसपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निरन्तर निक्षेप लिन थाल्यो । केन्द्रीय बैंकले अन्तर बैंक दर बढाई ब्याजदर करिडोरको तल्लो सीमासम्म पर्याउन निक्षेप संकलन उपकरण प्रयोग गर्यो । वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिन थालेपछि अन्तर बैंक दर पनि ३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसकेको अवस्थामा थोरै भएपनि आम्दानी हुने भएपछि निक्षेप संकलन उपकरणमा लगानी बढाएका थिए । तर, निक्षेप संकलन उपकरणको अवधि १४ दिनको मात्र हुने भएपछि केन्द्रीय बैंकले तरलता खिच्न आन्तरिक ऋणका लागि प्रयोग गर्ने उपकरण जारी गर्न थाल्यो । त्यसपछि ट्रेजरी बिल्स र विकास ऋणपत्रको ब्याजदर पनि क्रमिक रुपमा घट्दै आएको हो । विकास ऋणपत्रको ब्याज २०७९ मंसिर देखि निरन्तर घट्दै आएको छ ।

केन्द्रीय बैंकले बिहीबार जारी गरेको १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रमा २३ अर्ब ७५ करोड रुपैयाँ बरावरको आवेदन परेको छ । अधिक तरलता र कर्जा लगानी गर्न नपाएका बैंकहरुले विकास ऋणपत्रमा तुलनात्मक रुपमा लामो समयसम्म लगानी गर्न पाउने भएकाले धेरै माग आवेदन परेको हो । माग आवेदन धेरै आएसंगै ब्याजदर घटेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।