अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन सरकार सकारात्मक रहेको बताएका छन ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै यस क्षेत्रका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने आश्वासन दिए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने माग राखेका थिए ।

त्यस्तै, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन भ्यालु टु रेसियो हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने आग्रह गरे ।

साथै भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि समेत आग्रह गरे ।

यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा जानकारी गराए। उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।