दक्षिण एसियाली देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा

0
Shares

जलवायु परिवर्तनसम्बन्धी अनुसन्धाता तथा विज्ञहरूले विश्वका अन्य देशहरूको तुलनामा दक्षिण एसियाली देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा रहेको औँल्याएका छन् ।

बेलायतबाट सञ्चालित साउथ एसिया टाइम न्यूजपोर्टलको पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित ‘क्लाइमेट चेन्ज एन्ड साउथ एसियास् रिजनल च्यालेन्ज इन अ ग्लोबल क्राइसिस’ विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु अनुकूलताका लागि चाँडै नै सोच्नुपर्ने अवस्था आइसकेको बताए ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा।महेश्वर ढकालले जलवायु परिवर्तनलाई १९९२ सम्म वातावरणीय रूपमा बुझ्ने गरिए पनि अब कूटनीतिक, राजनीतिक, आर्थिक समस्याको रूपमा बुझ्न थालिएको बताए। भारत र चीनले गर्ने कार्बन उत्सर्जनका कारण दक्षिण एसिया नै प्रभावित भएको बताउँदै उनले भने,‘दक्षिण एसियामा कार्बन उत्सर्जनका हिसाबले भारत र चीनको चेपुवामा नेपाल छ । भारत र चीनमा आर्थिक विकास तीव्र गतिमा भइरहेकाले उत्सर्जनबाट नेपाल बच्न सक्दैन । उत्सर्जन घटाउन पहल गर्नै पर्छ ।

उनले जलवायु अनुकुलतका साथै नेपालले पानी, खाद्य सुरक्षा, गरिबी, जनसङ्ख्या बुद्धिलगायतका कोणबाट सोच्नुपर्ने बताए ।

हाल इटालीको मिलानोमा बसेर अनुसन्धान गरिरहेकी जलवायु सम्बन्धी अनुसन्धानकर्ता डा ।शोभा पौडेलले राष्ट्रिय नीतिहरू अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा केन्द्रित रहने गरेको उल्लेख गर्दै कोप सम्मेलनले निर्धारण गरेका मुद्दालाई प्राथमिकता दिनुपर्ने सुझाव दिइन । शून्य कार्बन उत्सर्जन , जलवायु मैत्री लगानी लगायतका उपायबाट प्रभावित समुदायको अवस्था बुझ्नुपर्ने औँल्याइन ।उनले नेपालको कृषि प्रणालीमा जल वायु परिवर्तनको असरका बारेमा थप अध्ययन गर्नुपर्ने बताउँदै सरकारले किसानलाई जलवायुमैत्री खेती गर्न प्रेरित गर्नेखालको नीति ल्याउनु पर्ने बताइन् ।

बीबीसी विश्व सेवाका विश्व वातावरण संवाददाता नवीन सिंह खड्काले पुरै दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । एसियामा मान्छेको जीवन र रोजगारी साथै भौगोलिक हिसाबले फरक फरक समस्या देखिएको उनले बताए । ‘मरुभूमिमा र हिमालको समस्या फरक छ । सगरमाथा बेसक्याम्पमा पानी धेरै पर्नु त्यसको असर हो । दक्षिण एसियामा सुरक्षित कुनै ठाउँ छैनन् । २०३० सम्म ३० प्रतिशत कार्बन उत्सर्जन घटाउनुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । संसार मै तेस्रो सबै भन्दा धेरै कार्बन उत्सर्जन गर्ने मुलुक चिन र तेस्रो बढी उत्सर्जन गर्ने भारतको बीचमा रहेकाले नेपाल उच्च जोखिममा रहेको उनले बताए ।

बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दक्षिण एसियाको गरिबी निवारण र आर्थिक विकासमा धेरै काम गर्नुपर्ने औँल्याउँदै उच्च सहरीकरण र गरिबीको समस्या घटाउनुपर्ने र ऊर्जा, आर्थिक, वातावरणबिचमा सामञ्जस्ययता हुनुपर्ने बताए।

उक्त अवसरमा कार्यक्रममा नेपाली दूतावास बेलायतकी उपनियोग प्रमुख रोशन खनाल,एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासङ्घ बेलायत शाखाका अध्यक्ष ध्रुव राज अर्याल, उपाध्यक्ष दिनेश परियार लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सुरुमा उपस्थित सहभागी तथा वक्ताहरूलाई स्वागत गर्दै एसिया टाइमका प्रधान सम्पादक भगीरथ योगीले पर्यावरण सम्बन्धी कार्यक्रमको महत्त्व र उद्देश्य प्रस्ट पारेका थिए । कार्यक्रमको अन्तमा साउथ एसिया टायमका निर्देशक तथा सम्पादक जगन कार्कीले पाँचौँ वर्षसम्म आइपुग्दा साथ र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिएका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।