साढे ६ महिनामा साढे ३५ प्रतिशत बजेट खर्च, सरकारको आम्दानी भन्दा ७९ अर्ब खर्च धेरै

0
Shares

चालु आर्थिक वर्ष २०८०/८१ को साढे ६ महिनामा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको साढे ३५ प्रतिशत बराबर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८० माघ १६ गते मंगलबारसम्म ६ खर्ब २४ अर्ब १४ करोड रुपैयाँ बराबर बजेट खर्च भएको हो । कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ३५.६४ प्रतिशत हो ।

सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अहिलेको खर्चको अवस्था हेर्दा सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालुतर्फ ४ खर्ब ७६ अर्ब ७५ करोड अर्थात ४१.७६ प्रतिशत, पुँजीगततर्फ ५७ अर्ब १५ करोड ९९ लाख अर्थात १८.९२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९० अर्ब २२ करोड ६२ लाख रुपैयाँ अर्थात् २९.३५ प्रतिशत बराबर मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ ।यस अर्थमा चालु आवको साढे ६ महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ ।

तर, अझै चालु शीर्षकको ६ खर्ब ६५ अर्ब २ करोड, पुँजीगत शीर्षकको २ खर्ब ४४ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फको २ खर्ब १७ अर्ब २२ करोड रुपैयाँ बराबर खर्च हुन सकेको छैन । सरकारले बजेटको लक्ष्य हासिल गर्न आगामी साढे पाँच महिनामा उक्त परिमाणको बजेट खर्च गर्नुपर्नेछ ।

चालु आवको साढे ६ महिनाको अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ३६.७९ प्रतिशत अर्थात ५ खर्ब २३ अर्ब ३८ करोड रुपैयाँ बराबर देखिएको छ । चालु आवका लागि सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

साढे ६ महिनामा सरकारले राजश्व, अनुदान तथा अन्य क्षेत्रबाट ५ खर्ब ४५ अर्ब १७ करोड प्राप्ति गरेको छ । जुन सरकारले यस अवधिमा गरेको खर्च भन्दा ७८ अर्ब ९६ करोड कम हो । सरकारले साढे ६ महिनाको अवधिमा ५ खर्ब ४५ अर्ब १७ करोड ३६ लाख आम्दानी गरेर ६ खर्ब २४ अर्ब १४ करोड ३४ लाख खर्च गरेको छ। साढे ६ महिनामा सरकारको बजेट घाटा झण्डै ७९ अर्ब पुगेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार साढे ६ महिनामा ५ खर्ब २३ अर्ब ३८ करोड राजश्व संकलन भएको छ । संकलित राजस्वमध्ये कर राजस्वतर्फ ४ खर्ब ६८ अर्ब ७५ करोड, गैरकर राजस्वतर्फ ५४ अर्ब ६२ करोड ५८ लाख र वैदेशिक अनुदानतर्फ २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर संकलन भएको छ । यही अवधिमा अन्य प्राप्ति शीर्षकको राजस्व १९ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबर छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको थियो । सरकारले गत आवका लागि कूल १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

गत आव सकिँदासम्ममा उक्त विनियोजित बजेटमध्ये ७९.६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबर खर्च भएको थियो । गत आव चालुतर्फ ८५, पुँजीगततर्फ ६१.४४ र वित्तीय व्यवस्थातर्फ ८२.५८ प्रतिशत बजेट खर्च भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।