नाफा सुधारेको कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा साढे चार प्रतिशत नजिक

0
Shares

कर्णाली डेभलपमेन्ट बैंकले खराब कर्जा व्यवस्थापनबाट रकम फिर्ता हुँदा खुद नाफामा उत्साहजनक रुपमा बढोत्तरी गरेपनि अझैपनि बैंकको खराब कर्जा अनुपात भने साढे चार प्रतिशत नजिक देखिएको छ ।

आज सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस विकास बैंकले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ करोड ३७ लाख रुपैयाँ रहेको नाफा १९२.१५ प्रतिशतले बढेको हो । यस्तै बैंकको वितरणयोग्य नाफा ३४ करोड १७ लाख १२ हजार ऋणात्मक छ ।

बैंकको खराब कर्जा अनुपात ४.४७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ३.१७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात १.३० प्रतिशत बिन्दुले बढेको हो ।

चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा २१.११ प्रतिशत गिरावट आएको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा ७ करोड ७५ लाख ४६ हजार खुद ब्याज आम्दानी गरेको बैंकले हाल ६ करोड ११ लाख ७३ हजार मात्र खुद ब्याज आम्दानी गरेको हो । बैंकको सञ्चालन मुनाफा १९२.१५ प्रतिशतले बढेर ४ करोड ७८ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

बैंकले खराब कर्जा वापत व्यवस्था गरेको ३ करोड ६४ लाख २० हजार रुपैयाँ इम्प्येरमेन्ट चार्ज फिर्ता भएपछि बैंकको खुद ब्याज आम्दानी घटेपनि नाफामा सुधार आएको हो । अघिल्लो आवको सोही अवधिमा १ करोड १ लाख कर्जा जोखिम ब्यवस्था गरेको थियो । बैंकको जगेडा कोषमा ३९ करोड २३ लाख ८३ हजार रहेकोमा रिटेर्न अनिङ्ग भने ३४ करोड १७ लाख १२ हजार रुपैयाँ ऋणात्मक छ । सेयर प्रिमियममा साढेचार लाख सञ्चित छ ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी नाफा बढेसँगै १२ रुपैयाँ ५१ पैसा बढेर १९ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५७.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.५५ गुणा छ । बैंकको कस्ट अफ फन्ड ९.०१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।