सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारिणी समितिले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । 
चिनियाँ वस्तु तथा सेवाको कमजोर बाह्य माग र आन्तरिक रुपमा देखिएको रियल स्टेट सङ्कटका कारण आर्थिक वृद्धि दर गतवर्षको तुलनामा कमजोर रहने समितिको तर्क छ । 

सन् २०२३ मा चीनले ५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको थियो । सन् २०२२ मा चीनमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि चिनियाँ सरकारले शून्य कोभिड नीति अपनाएका कारण चीनको अर्थतन्त्र धरासायी अवस्थामा पुगेको थियो । तर सन् २०२३ मा चीनले शून्य कोभिड नीति हटाएसँगै आन्तरिक मागमा भएको वृद्धि तथा सरकारले उद्योग क्षेत्रलाई दिएको सहुलियतका कारण आर्थिक वृद्धि भएको थियो । 

पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा देखिएको संकट र अमेरिका र युरोपले चीनबाट बिक्री हुने सेमी कन्डक्टर तथा अन्य विद्युतीय सामाग्रीमा कडाइ गरेसँगै बाह्य माग घटेको छ भने अर्थतन्त्रमा एक तिहाइ योगदान गरेको रियल स्टेट क्षेत्र धराशायी हुँदा निर्माण क्षेत्र सुस्ताएको छ । जसकारण सन् २०२४ मा चीनको आर्थिक वृद्धि ४.६ प्रतिशतमा खुम्चिने आइएमएफको प्रक्षेपण छ । 

यस्तै चीनमा वृद्ध जनसङ्ख्या बढ्दै गएको छ । कुल जनसङ्ख्याको २१.१ प्रतिशत जनसङ्ख्या वृद्ध हुँदै छन् । जसकारण सन् २०२८ सम्म चीनको वृद्धि दर खुम्चिँदै जाने छ । सन् २०२५ मा चीनको वृद्धि दर ४ प्रतिशत रहने, २०२६ मा ३.८ प्रतिशत, २०२६ मा ३.८ प्रतिशत, २०२७मा ३.६ प्रतिशत र सन् २०२८ माआर्थिक वृद्धि दर खुम्चिएर ३.४ प्रतिशत रहने आइएमएफको अनुमान छ । 

चीनमा देखिएको रियल स्टेटको समस्या समाधानका लागि समष्टिगत आर्थिक नीतिमा सुधार ल्याउनु पर्ने र स्थानीय सरकारको बढ्दो सार्वजनिक ऋण घटाउन आइएमएफले सुझाएको छ । यस्तै कार्यकारिणी समितिले चीनमा प्रगतिशील कर सुधार कार्यक्रम र सार्वजनिक वित्तीय व्यवस्था सुधारको आवश्यकता रहेको औँल्याएको छ । साथै सम्पत्ति शुद्धीकरण र आंतकवादी क्रियाकलापमा हुने वित्तीय लगानी नीतिलाई सुदृढ गरेर अगाडि बढ्न सुझाव दिएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार १८ : ३२ बजे