चिलिमे जलविद्युत कम्पनीको विद्युत बिक्रीको आम्दानी घट्दा नाफा प्रभावित भएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३५ करोड ९१ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ५.५१ प्रतिशत कम हो । गत पुससम्म कम्पनीले ४० करोड १२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
दोस्रो त्रैमाससम्म चिलिमेको विद्युत बिक्री हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपैयाँमा सीमित बनेको छ । गत आवको सोही अवधिमा विद्युत बिक्रीको आम्दानी ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ थियो । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।
चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङको १५.४९ प्रतिशतले घटेर २ अर्ब ५३ करोड ८६ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो पुसमा रिटेन्ड अर्निङमा ३ अर्ब ४० लाख रुपैयाँ थियो ।
कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (ईपीएस) घटेर ९ रुपैयाँ ४० पैसा कायम भएको छ । गत आवको यसै अवधिमा ११ रुपैयाँ ६ पैसा ईपीएस थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा र पीई रेसियो ५५.२० गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
