आयात घट्दा चालु खातामा १६१ अर्ब, शोधनान्तर स्थिति २७३ अर्बले बचतमा

0
Shares

चालु आर्थिक वर्षको सुरुवातदेखि आयातमा आएको कमीको प्रभाव चालु खातामा देखिएको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण आर्थिक गतिविधि विस्तार हुन नसक्दा घटेको आयातले चालु खातालाई बचतमा पुर्याएको हो ।

पुस महिनासम्ममा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ। मंसिर महिनामा पनि आयात ३.४ प्रतिशतले घट्दा चालु खाता बचत बढेर एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँ पुगेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।