तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंकहरुबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।

पछिल्लो समयमा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्दै आएको छ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्न लागेको छ ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरी बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो।

निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।