रिलायबल नेपाल लाइफले बढायो नाफा, अन्य सूचक कस्ता ?

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४.९७ प्रतिशतले खुद नाफा बढाउँदै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नाफा हेरफेर हुनसक्छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन अघिल्लो पुको तुलनामा १.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख १७ हजार पुगेको छ । यस्तै खुद दाबी भुक्तानी पनि २१.८८ प्रतिशत बढेर १ अर्ब ६३ करोड ८० लाख ६१ हजार रुपैयाँ बराबर गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले कुल आम्दानी १२.७९ प्रतिशत वृद्धि गर्दै २ अर्ब ४१ करोड २९ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दा इन्स्योरेन्सको कुल खर्च पनि १३.६८ प्रतिशत बढेर २ अर्ब १८ करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ । आईपीओपछि ४२.८६ प्रतिशतले चुक्ता पुँजी बढेर ४ अर्ब रुपैयाँ कायम भएको कम्पनीको पुँजी वृद्धिको अनुपातमा नाफा नबढेपछि इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४ रुपैयाँ १७ पैसा घटेको छ । पुससम्म इन्स्योरेन्सको वार्षिक इपीएस ११ रुपैयाँ ५५ पैसा, प्रति सेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा, र मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ३१.४७ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ४१ लाख रुपैयाँ सञ्चित थियो । इन्स्योरेन्सको सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख ९२ हजार रुपैयाँ र महाविपत्ती कोष ३१.१३ प्रतिशत बढेर १४ करोड ३७ लाख ७ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख ८२ हजार रुपैयाँ र अन्य इक्विटी पनि १६.९१ प्रतिशत वृद्धि भई ५ करोड ५६ लाख ८८ हजार रुपैयाँ बराबर कामय भएको छ ।

कम्पनीले चालु आवको ६ महिनाको अवधीमा कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । रिलायबल नेपालले अभिकर्ता कमिशन बापत २१ करोड ८६ लाख ३९ हजार रुपैयाँ खर्चिएको छ । जुन गत आवको तुलनामा ११.८७ प्रतिशत कम हो ।

कम्पनीले पुससम्म १४ अर्ब ५७ करोड ४० लाख ३६ हजार लगानी गरेको छ । यो गत आवको पुसको तुलनामा ५३.८६ प्रतिशत धेरै हो । यस्तै लगानी कर्जा तथा अन्यबाट आय ५५.१५ प्रतिशत बढेर ६३ करोड ९० लाख ६८ हजार तथा बीमालेख धितोबाट १ करोड ५६ लाख २६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । बीमालेख धितोबाट हुने ब्याज अघिल्लो पुसभन्दा ५३४ प्रतिशत धेरै हो ।

समीक्षा अवधिमा इन्स्योरेन्समा ब्यतित बीमालेख वापतको रकम १७ करोड ९९ लाख १३ हजार रुपैयाँ छ । यो रकम गत आवको तुलनामा ११ करोड ६० लाख बढी हो । आम्दानीका अधिकांश स्रोत बढाएपनि बीमालेख छाड्ने बढ्दा कम्पनीलाई थप जिम्मेवार बन्न संकेत गरेको छ । कम्पनीमा टोटल इन्फोर्स पोलेसीको सङ्ख्या ३२ लाख ९९ हजार ६३२ ओटा रहेको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा नारायणबाबू लोहनी र अध्यक्षामा उदय नेपाली श्रेष्ठ छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।