मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ ।
कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा छ ।

मुक्तिनाथ कृषि कम्पनीको पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापकतर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल तथा मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र चिरन्जीवी अर्याल गरी पाँच जना सञ्चालकमा निर्वाचित भएका थिए । सँगै पुस २६ गते बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको थियो ।
मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन समेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिँदै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
