एसिआई वर्ल्डवाइडले एनसीएचएलको नेशनल पेमेन्ट स्वीच निर्माण तथा संचालन गर्ने

0
Shares

नेपाल क्लियरिङ हाउस एनसीएचएलले अन्तराष्ट्रिय भुक्तानी सेवाका लागि सञ्चालनमा ल्याउने उद्देश्य राखेको नेशनल पेमेन्ट स्वीचको निर्माणकर्ता तथा सञ्चालकमा एसीआई वर्ल्डवाइडलाई जिम्मेवारी दिएको छ ।

विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको भुक्तानी सफ्टवेयर निर्माण गरेको एसीआई वर्ल्डवाइडले एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल कार्ड स्वीच र डोमेस्टिक कार्ड–नेपालपेको निर्माण गर्ने भएको हो ।

आज एनसीएचएलले एसीआई वर्ल्डवाइडलाई नेशनल पेमेन्ट स्वीच निर्माणका लागि नियुक्त गरेको हो । यस सहकार्यले नेपालको भुक्तानी प्रणाली तथा यहाँको इकोसिस्टमलाई सुधार गरी थप बलियो बनाउने एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले जनाएका छन् ।

नेशनल कार्ड स्वीचको निर्माण भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले नेपालमै बनेको नेपालपे कार्ड लागू गर्न सक्नेछन् । हाल नेपालमा भिसा, मास्टर कार्ड लगायतका अन्तराष्ट्रिय पेमेन्ट गेटवेहरुको प्रयोग हुँदै आएको छ । नेपालपेको स्थापनासँगै यसले नेपालीहरुमा एटिएम सुविधा थप सहज र सस्तो बनाउने आशा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।