सानिमा माई हाइड्रोपावरको विद्युत बिक्री घटेपनि नाफा बढ्यो

0
Shares

सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष को दोस्रो त्रैमाससम्ममा ३३ करोड ४१ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३.३९ प्रतिशत वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री बक्रिी आय घटेपनि वित्तीय खर्चमा उल्लेख्य कमी आएका कारण मुनाफा वृद्धि भएको हो । गत आवको ६ महीनामा कम्पनीको खुद नाफा ३२ करोड ३१ लाख ३९ हजार रुपैयाँ थियो ।

वित्तीय विवरण अनुसार चालू आवको दोस्रो त्रैमासमा गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको विद्युत बिक्री आय सामान्य घटेको छ । गत आवमा कम्पनीले बिजुली बेचेर ५० करोड ४९ लाख ३० हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा १.१३ प्रतिशत घटेर ४९ करोड ९२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको हो ।

गत आवको ६ महीनामा कम्पनीले ६ करोड ३६ लाख २५ हजार वित्तीय खर्च गरेकोमा चालू आवमा २०.२९ प्रतिशतले घटेर ५ करोड ७ लाख १५ हजार रुपैयाँ कायम भएको छ । प्रशासनिक खर्च सामान्य बढेर ८ करोड ७८ लाख ३६ हजार बराबर रहेको छ । अन्य आम्दानी १९.३४ प्रतिशतले वृद्धि भई २ करोड ७२ लाख ७० हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद सञ्चालन मुनाफा ३.२४ प्रतिशत घटेर ३६ करोड ९५ लाख २८ हजार कायम भएको छ । 

चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १० रुपैयाँ ८२ पैसा छ । नाफासँगै समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ७१ पैसा बढेको हो । यस्तै पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ९८ लाख ८४ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड २७ लाख ३४ हजार रुपैयाँ सञ्चित छ । दोस्रो त्रैमाससम्ममा प्रति सेयर नेटवर्थ १८९ रुपैयाँ १० पैसा र कम्पनीको मूल्य आम्दानी अनुपात १७.२८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।