आन्तरिक ऋण उठाउन ७ अर्बको विकास ऋणपत्र, आज बोलकबोल

0
Shares

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ७ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

‘विकास ऋणपत्र २०८८ ‘ज’ बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ । ऋणपत्रका लागि माघ २५ गते बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । माघ २६ गते शुक्रबार राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।

चालु आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचतपत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत रहेको आन्तरिक ऋणको तालिकामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।