सोल्टीले पर्यटकीय गतिविधि बढेपछि ६ महीनामा कमायो साढे २६ करोड खुद नाफा

सोल्टीले पर्यटकीय गतिविधि बढेपछि ६ महीनामा कमायो साढे २६ करोड खुद नाफा

सोल्टी होटलले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीना अवधिमा २६ करोड ३१ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटल २५ करोड १४ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा होटलको नाफा ४.६४ प्रतिशतले बढेको हो ।

खुद नाफा बढेसँगै समीक्षा अवधिमा सोल्टी होटलको प्रति सेयर आम्दानी वार्षिक ५ रुपैयाँ ९५ पैसा र प्रति सेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा पुगेको छ । अघिल्लो आवको यसै अवधिमा होटल प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ५१ पैसा थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ८०.३६ गुणा छ ।

आर्थिक वर्ष २०८०–८१ को कार्तिक, मङ्सिर र पुसमा नेपाल भ्रमणमा आउने भारतीय तथा चिनियाँ पर्यटकहरुको संख्यामा महत्वपूर्ण अभिवृद्धि भएपछि होटलको आम्दानीसँगै मुनाफा पनि बढेको हो ।

नेपालको अन्तर्राष्ट्रिय पर्यटक आगमनमा दोस्रो त्रैमासिकसम्म आइपुग्दा कोभिड पूर्वमहामारीको झण्डै ९० प्रतिशत सुधार भई पर्यटकीय गतिबिधिमा अभिवृद्धि भएकोले होटेलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरुमा उल्लेख्य वृद्धि कारण रहेको होटलले औंल्याएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरी २०२३को जनवरीदेखि डिसेम्बरसम्म १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए । सोमध्ये हवाईमार्गबाट मात्रै ५ लाख ४६ हजार बढी आएका छन् ।

पुस मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल १ अर्ब ५ करोड ८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटलको कुल आम्दानी ९६ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित थियो । समीक्षा अवधिमा व्यवसायबाट हुने आय ९ करोड ६ लाख २६ हजार रुपैयाँ अर्थात ९.४४ प्रतिशत बढेको हो । यस्तै सोल्टीले सञ्चालन नाफा गत आवमा ४.५२ प्रतिशत बढेर ३१ करोड ७६ लाख ८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा ३० करोड ३८ लाख ६८ हजार रुपैयाँ थियो ।

आम्दानी मात्र होइन कम्पनीको कुल खर्च पनि बढेको छ । कम्पनीको कुल खर्चमा १२.०९ प्रतिशतले वृद्धि हुँदै ७३ करोड २८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन खर्च २.२५ प्रतिशतले बढेर १२ करोड ६४ लाख पुग्दा खाद्यान्न तथा पेय पदार्थको लागत १२.४१ प्रतिशत वृद्ध भई १७ करोड ८१ हजार रुपैयाँ पुगेको छ । यस्तै कर्मचारी सुविधा १८.६७ प्रतिशत बढेर २४ करोड ९८ लाख, ह्रासकट्टी १६.४० प्रतिशत बढेर ६ करोड ५४ लाख रुपैयाँ र प्रशासनिक तथा अन्य खर्चका शीर्षक ८.२६ प्रतिशत बढेर ११ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

दश रुपैयाँ अंकित दरमा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ छ । अघिल्लो आवको नाफाबाट होटलले ५ प्रतिशत बोनस सहित कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । होटलको सञ्चित मुनाफा र जगेडा कोषको आकार ३०.४५ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ४८ लाख १४ हजार रुपैयाँ पुगेको छ । होटलको कुल व्यावसायीक आम्दानीमा अघिल्लो आर्थिक वर्ष २०७९–८० को ६ महीना अवधिमा अत्यन्त उत्साहजनक तथा महत्वपूर्ण अभिवृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७९–८० को अन्त्यमा कम्पनीको कार्यसम्पादनका नतिजाहरु उत्साहजनक रहेका छन् । देशभित्र हुने सभा, समारोह तथा गोष्ठीहरु , प्रितिभोज तथा विवाह समारोह खण्डका गतिविधिहरु आयोजनाको क्रम बढ्दा होटलको व्यवसायमा सकारात्मक प्रभाव देखिएको हो ।होटेल सञ्चालन लागतमा मितव्ययीता, नियन्त्रणात्मक कार्य योजना अनावश्यक खर्च कटौतिलाई जारी राख्दै विविध बजारखण्डमा सूक्ष्म प्रवेश गर्दै आफ्ना व्यावसायिक गतिविधिहरुको कुशलतापुर्वक सञ्चालन जारी राख्ने सोल्छी व्यवस्थापनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार १७ : २३ बजे