सोनापुर मिनिरल्सले आम्दानी भन्दा चार गुणा बढी ऋण लिँदै

0
Shares

सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडको आम्दानीमा गिरावट आएको छ । आइपीओ निष्कासन गरी कम्पनीले पुँजी बढाएता पनि आम्दानीमा भने निरन्तर गिरावट आएको छ ।

आर्थिक वर्ष २०२२ मा २ अर्ब ३७ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा १ अर्ब ८० करोड १० लाखमा खुम्चिएको हो। आव २०२१ मा २ अर्ब ९२ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानीमा आव २०२२ देखि निरन्तर गिरावट आएको हो ।

कम्पनीले आफ्नो वार्षिक आम्दानीका तुलनामा ४.१२ गुणा बढी ऋण लिने भएको छ । कुल ७ अर्ब ४२ करोड ३३ लाख बराबरको कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ५ अर्ब ४२ करोड ९३ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र १ अर्ब ९९ करोड ४० लाख बराबरको कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको आम्दानीमा आएको गिरावटको प्रभाव कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा परेको छ । आव २०२२ मा कम्पनीको कर्जा भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.३१ गुणा थियो भने आव २०२३ मा उक्त क्षमतामा ह्रास आउँदा १.५३ गुणामा खुम्चिएको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले क्लिंकर प्लान्टको क्षमता विस्तार प्रक्रिया अघि सारेको छ । प्रति दिन १ हजार २५० मेट्रिक टन उत्पादन क्षमतालाई वृद्धि गरेर १ हजार ६५० मेट्रिक टन पु¥याउने लक्ष्य कम्पनीले राखेको छ ।

तर प्लान्ट निर्माणका लागि आवश्यक पर्ने रकम ८० प्रतिशत कर्जामा निर्भर रहेको छ । सिमेन्ट तथा क्लिंकर उत्पादन कम्पनीहरुको विस्तार तीव्र गतिमा भइरहेको समयमा कम्पनीले प्लान्ट निर्माण गरिसकेपछि अपेक्षा गरे अनुरुपको लाभ लिन सक्छ वा सक्दैन भन्नेमा प्रश्न खडा भएको छ ।

यस्तै कम्पनीको सेल्स १० ठूला ग्राहकहरुमा आधारित रहेको छ । आव २०२३ मा कम्पनीको कुल सेल्स मध्ये ७८ प्रतिशत सेल्स तिनै १० ठुला ग्राहकहरुमा सिमित रहेको छ । जसमध्ये एक ठूलो ग्राहकसँग कम्पनीले कुल सेल्सको २६ प्रतिशत सेल्स गरेको छ । यसरी सिमित ग्राहकहरुमा कम्पनीको सेल्स निर्भर हुँदा आगामी समयमा त्यसको प्रभाव नकरात्मक पर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।