दुई कम्पनीले मागे २९ करोड ३० लाखको आईपीओ निष्कासन अनुमति

0
Shares

हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति माग गर्दै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । सेबोनका अनुसार हिम रिभर पावरले माघ २८ गते र पीयोर इनर्जीले माघ २९ गते आवेदन दिएको हुन् ।

सेबोनका अनुसार हिम रिभर पावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १३ करोड ३० लाख बराबरको १३ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

हिम रिभर पावरले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हिम रिभर पावर लिमिटेडलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर–एनपी बीबी इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यस जारीकर्ता रेटिङका ​​प्राप्त कम्पनीहरू पूर्वनिर्धारित समयमै वित्तीय दायित्वहरू पूरा गर्ने सन्दर्भमा मध्यम जोखिममा रहेको मानिन्छन् ।

यसैगरी अन्य क्षेत्रको कम्पनीको रुपमा स्थापित पीयोर इनर्जी लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणमा लागि आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले १६ करोड बराबरको १६ लाख कित्ता सेयर बिक्री गर्नेछ ।

पीयोर इनर्जीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । गोल्यान ग्रुप अन्तर्गतको यस कम्पनीले नेपालगञ्जमा २० मेगावाटको सोलार आयोजना सञ्चालन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।