बिर्तामोडको पाँच तारे होटल–द किङ्सबरीको रेटिङमा घटुवा

0
Shares

पूर्वी नेपालको बिर्तामोडमा अवस्थित पाँच तारे होटल– होटल द किङ्सबरीको रेटिङमा गिरावट आएको छ ।

सन् २०२२ को जुलाई महिनामा होटल सञ्चालक समितिले १ अर्ब १० करोड बराबरको कर्जाका लागि रेटिङ गराएको थियो । रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब ५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी र ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो ।

रेटिङका आधारमा होटल सञ्चालक समितिले कर्जा लियो । तर कर्जाको समीक्षा गर्ने अवधि भएपछि इक्रा नेपालले पटक पटक होटललाई सम्पर्क गर्न खोजेता पनि होटलबाट कुनै प्रतिक्रिया नआएकाले एजेन्सीले कम्पनीको रेटिङ घटुवा गरेको हो ।

हाल एजेन्सीले १ अर्ब ५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । यसका साथै एजेन्सीले होटललाई ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा राखेको छ भने रेटिङ वीथड्रल गर्ने चेतावनी समेत दिएको छ ।

सन् २०१६ मा स्थापना भएको होटल सन् २०२१ को अगस्ट महिनादेखि सञ्चालनमा आएको हो । कुल ८२ कोठाको क्षमता भएको उक्त होटलले विगत एक वर्षदेखि क्यासिनो र स्पाको सुविधा समेत उपलब्ध गराउँदै आएको होटलका एचआर तथा फाइनान्स म्यानेजर राजेन्द्र राणाले बताए ।

सन् २०२१ को मार्च महिनामा होटलको नाम ‘होटल ग्या्रन्ड प्रिन्स परिवर्तन गरी होटल द किङ्सबरी राखिएको हो । होटलमा प्रकाश गोतामेको एकल स्वामित्व रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।