लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा आइतबार पनि सेयर बजारमा गिरावट जारी

0
Shares

सेयर बजारका लगानीकर्तााको मनोबल कमजोर बन्दा साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार सूचक मापक नेप्से परिसूचक घटेर बन्द भएको छ ।

बिहीबार १४.४६ अंकले ओरालो लागेको सेयर बजारमा आइतबार थप गहिरिँदै २७.२१ अंकले घटेको हो । नेप्से परिसूचक १.३१ प्रतिशत घटेर २०३४.८२ बिन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक, फ्लोट इण्डेक्स १.८६ अंक, सेन्सेटिभ इण्डेक्स १.०२ अंक घटेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये सबै राताम्ये बनेका छन् । यस दिन फाइनान्स सर्वाधिक २.७० प्रतिशत घटेको छ भने जलविद्युतको इन्डेक्स पनि २.१५ प्रतिशतले ओरालो लागेको छ । बैंकिङ्ग र उत्पादन तथा प्रशोधन मुलक इन्डेक्स एक प्रतिशतभन्दा कम घट्दा बाँकी ९ ओटाको १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ९७ हजार १०५ ओटा संख्याबाट ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन बिहीबार ३०५ कम्पनीको १ करोड १४ लाख कित्ता सेयर ३ अर्ब ८६ करोड ९१ लाखमा कारोबार भएको थियो । बजार ओरालो लागेसँगै आज दैनिक कारोबार रकम ९ करोड ३७ लाख रुपैयाँले घटेको हो । आज कारोबारमा आएका ३१५ कम्पनी मध्ये ५१ ओटाको सेयर मूल्य बढेको छ भने २५२ ओटाको मूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको हिमालयन रि इन्स्योरेन्स आज कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको ६ लाख ३२ हजार ७५७ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै एनआईसी एशिया बैंकको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावर १० करोड ६४ लाख, सगरमाथा जलविद्युतको ९ करोड २७ लाख, युनियन हाइड्रोपावरको ७ करोड ६१ लाख बढीको कारोबार भएको छ ।

आइतबारको बजारमा पनि बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १० हजार २४२ रुपैयाँ ९० पैसा र समाज लघुवित्तको १६३५ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै किसान लघुवित्त ८.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ६.६५ प्रतिशत र आशा लघुवित्तको सेयर मूल्य ६.०४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै सालिङ्ग पावर कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । यस कम्पनीका लगानीकर्ताले आज ८.२१ प्रतिशतका दरले गुमाएका हुन् । यससँगै कम्पनीको मूल्य ५८.३० रुपैयाँले घटेर ६५१.७० रुपैयाँमा झरेको छ । यस्तै दोर्दीखोला जलविद्युतको ६.१५ प्रतिशत, पाँचथर पावरको ५.९१ प्रतिशत, बाराही हाइड्रोपावरको सेयर मूल्य ५.८२ प्रतिशत, एनआईसी एशिया ग्रोथ फन्डको इकाई मूल्य ५.६१प्रतिशतले घटेको छ ।

आइतबारको गिरावटपछि कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ९८ अर्ब ५६ करोड ९८ लाख ९ हजार ७०१ रुपैयाँमा समेटिएको छ । बिहीबार ३२ खर्ब ४१ अर्ब ३४ करोड ५० लाख थियो । आइतबार मात्रै ४२ अर्ब ७७ करोड ५२ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।