माघ महीनामा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड राजस्व संकलन

0
Shares

पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार बढेको छ । माघ महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैंयाँ राजस्व संकलन भएको छ ।

यो पुस महिनाको तुलनामा १७ करोडले बढी हो । पुस महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको थियो । भूमि व्यवस्थापन विभागको यो तथ्यांकले घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो ।

माघ महिनामा देशभर ५० हजार ९२१ घरजग्गाको कारोबार भएको छ । यो पुसको तुलनामा १० प्रतिशतले बढी हो । गत पुसको तुलनामा माघमा घरजग्गाको काराबोर १२.४७ प्रतिशतले बढी हो। पुसमा ४६ हजार ३० घरजग्गाको कारोबार भएको थियो ।

गत वर्ष माघ महिनामा भएको कारोबारको तुलनामा भने यो वर्षको माघमा घरजग्गा कारोबार २३.९७ प्रतिशतले बढेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष माघ महिनामा देशभर ४१ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो।

पुस महिनामा सरकारले घरजग्गा कारोबार मार्फत ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैंयाँ राजस्व संकलन गरेको छ । सरकारले प्राप्त गरेको कुल राजस्वमध्ये रजिष्ट्रेसन दस्तुरबाट २ अर्ब २४ करोड ९९ लाख ६१ हजार ७९३ रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै पुँजिगत लाभ कर १ अर्ब १९ करोड ९३ लाख ९६ हजार ७९९ रुपैयाँ, सेवा करबाट २२ करोड ५१ लाख ५७ हजार ६७९ रुपैयाँ, बिलम्ब शुल्कबाट ४ लाख ९२ हजार २५६ रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार माघमा सबैभन्दा धेरै राजस्व संकलन ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट भएको छ । उक्त मालपोत कार्यालयबाट माघ महिनामा ३१ करोड ६१ लाख १६ हजार २०४ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २६ करोड ७ लाख ६२ हजार ५८० रुपैयाँ राजस्व संकलन भएको छ भने कलंकी मालपोत कार्यालयबाट १९ करोड ९३ लाख ८७ हजार ७८५ रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

यस्तै, माघ महिनामा देशभर ५० हजार ९२१ घरजग्गाको लिखत पारित भएको छ । यो पुसको तुलनामा १० प्रतिशतले बढी हो । पुसमा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएको थियो ।

माघ महिनामा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित धनुषाको जनकपुरधाम मालपोत कार्यालयबाट भएको छ । माघमा जनकपुरबाट दुई हजार ९२ घरजग्गाको लिखत पारित भएको छ । सुनसरीको इनरुवा मालपोतबाट दुई हजार ३२, झापाको भद्रपुरबाट १९ सय, मोरङको बेलबारीबाट १६ सय ८३, सप्तरीको राजविराजबाट १४ सय, महोत्तरीको जलेश्वरबाट १२ सय ९२, सिराहाबाट ११ सय १३, सर्लाहीको मलंगवाबाट एक हजार ८०, पर्साबाट एक हजार ६७, बाराको कलैयाबाट एक हजार ३३ घरजग्गाको लिखत पारित भएको छ ।

यसैगरी, माघमा ५ हजार ४८० वटा नामसारी, १० हजार ८०५ वटा संशोधन, ३५ हजार ६४९ वटा जग्गा रोक्का, २९ हजार २८७ वटा फुकुवा, ३८ वटा जग्गा दर्ता, २ हजार ६१ दाखिल खारेज, १२० जग्गा बाँडफाँड भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत कात्तिकदेखि यता घरजग्गाको कारोबार निरन्तर बढी रहेको छ । समग्र घर जग्गा कारोबारसँगै अपार्टमेन्ट खरिदबिक्रीमा पनि बढोत्तरी देखिएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामै देशभर २१० युनिट अपार्टमेन्ट किनबेच भएको छ । जुन गत आवको माघ मसान्तसम्मको तुलनामा १६.६६ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा पनि देशभर १८० वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए । विभागका अनुसार गत माघमा २५ वटा अपार्टमेन्ट बिक्री भएका छन् । विभागका अनुसार काठमाडौं उपत्यकामकै धेरै अपार्टमेन्ट कारोबार भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।