विद्युत् विकास विभागले माग्यो एक मेगावाट बढी क्षमताका आयोजनाको विवरण

0
Shares

विद्युत् विकास विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनाहरुसँग खण्डिकृत तथ्यांक माग गरेको छ ।

विभागले १ मेगावाटभन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो तथ्यांक आवश्यक परेको जनाउँदै ७ दिनभित्र तथ्यांक उपलब्ध गराउन भनेको हो ।

विभागले आयोजनको नाम, क्षमता र आयोजनाको संरचनाहरु रहेको स्थानीय वडा तह खुल्नेगरी विवरणहरु उपलब्ध गराउन निर्देशन दिएको छ । साथै विभागले अहिलेसम्म तिरेको रोयल्टीको विवरण र २०८०/८१ असार मसान्तसम्म उठ्न सक्ने रोयल्टी विवरण पनि उपलब्ध गराउन भनेको छ ।

विभागले जलाशययुक्त आयोजना तथा पिकिङ्ग रन अफ द रिभर आयोजनाको हकमा जलाशयले छोएको सम्पूर्ण वडाहरु, बाँध, इन्टेक, डिस्यान्डिङ बेसिन, नहर, पाइप वा सुरुङ, विद्युत् गृह, टलरेस र अन्य संरचना रहेको वडासमेत स्पष्ट खुलाई विवरण पठाउन भनेको छ ।

यस्तै आयोजनाका कारण सुक्खा क्षेत्र सिर्जना हुन गएका स्थान, आयोजनाको बाँधदेखि विद्युतगृहसम्म नदीको वारीपारी र किनारमा जोडिने वडाहरुको विवरण पनि बुझाउनुपर्ने भएको छ । विभागले आयोजनासँग सम्बन्धित नक्सा, जीआइएस सेप फाइल र गुगल म्यापमा खुल्ने गरी पठाउन भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।