नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले रणनीतिक व्यापारिक साझेदार भित्र्याउने

0
Shares

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन आर्थिक वर्षको साधारणसभा एक साथ सम्पन्न भएको छ । फागुन ६ गते उद्योगको आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को साधरण सभा सम्पन्न भएको हो ।

उद्योगका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत साधरण सभा सम्पन्न गरिएको हो।

सभामा सयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले विगतमा इण्डियन आयल कर्पोरेशन लि.बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको जानकारी दिए । यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आ.ब. २०७९/०८० मा बिक्री बृद्धि भएको उनले बताए ।

साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाई पनि रहेको उनले बताए । त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफु तथा सञ्चालक समिति लागिपरेको बताउँदै अव वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको श्रेष्ठको भनाई छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी रहेको बताए ।

सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्दता जनाए पनि हालसम्म पुरा गर्न नसकि रहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको उनले जानकारी गराए ।

त्यसैगरी सभामा ३५% शेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्फबाट अशोक कुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ यस उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भए । त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकाश आचार्य चयन भएको उद्योगले जनाएको छ ।   

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।