समयमै कर नतिर्ने १२६ करदातालाई कर कार्यालयको १५ दिने अल्टिमेटम

0
Shares

आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र साढे १२ करोड बक्यौता कर दाखिला गर्न निर्देशन दिएको छ ।

राजस्व कार्यालयका अनुसार अस्पताल, उद्योग, निर्माण कम्पनी लगायत १२६ करदाताले १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्न बाँकी रहेको छ । जसमध्ये ११८ करदाताले मूल्य अभिवृद्धि कर र बाँकी ८ कम्पनीले आयकर तिर्न बाँकी रहेको छ ।

करदाताहरुलाई कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क संकलन भ्रमण, एसएमएस तथा पत्राचार गरी जानकारी गराएकोमा हालसम्म पनि कर बक्यौता दाखिला नगरेको तथा कतिपय करदाताहरुलाई हुलाकमार्फत जानकारी गराउँदा पनि कर नतिरेको कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र बक्यौता कर गर्न भनेको छ । सो अवधिमा पनि कर फरफारक नभएमा आय कर तथा अग्रीम कर बक्यौताको हकमा आय कर ऐन २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ तथा अन्त शुल्कको हकमा अन्त शुल्क ऐन २०५८ को दफा १० मा उल्लेखित केही वा सबै प्रकृया अपनाई कर असुल उपर गर्ने जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।