सामुदायिक र विपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत वित्तीय कारोबार थाल्ने

सामुदायिक र विपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत वित्तीय कारोबार थाल्ने

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि फागुन २४ बिहीबारको दिनदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौंबाट फागुन ८ गते  गाभ्ने–गाभिने (मर्जर) गर्ने सम्बन्धमा स्वीकृती प्राप्त भएपछि फागुन ९ गते बसेको बैठकको सिफारिसमा संयुक्त मर्जर समितिको १५४ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार मर्जर कार्य सम्पन्न भए पश्चात सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट फागुन २४ बिहीबारको दिनदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

एकीकृत कारोबार सञ्चालनका लागि २०८० असोज ३० गतेको विशेष साधारण सभाबाट विशेष प्रस्ताव पारित गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट मिति २०८० माघ २४ गते र नेपाल धितोपत्र बोर्डबाट २०८० फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त गरेको थियो ।

फागुन २४ बिहीबारदेखि एकीकृत कारोबारसँगै बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि दुबै कम्पनीको १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का हुने भएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को निर्देशन ९ बमोजिम मर्जर पन्ध्र दिन कारोबार रोक्का हुने व्यवस्था छ ।

एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्यांकहरुलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने ब्यवस्था मिलाउन फागुन २३ गते बुधबार एक दिन दुबै लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने समेत जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फागुन २०८०, बिहीबार १० : ३६ बजे