वडा कार्यालयको फिल्ड निर्माणमा अनियमितता गर्ने सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूले जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अनियमितता भएको पाइएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र चंखेली गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि सोही आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । ।

उनीहरुले आ.व. २०७४/०७५ मा सञ्चालित वडा कार्यालयको फिल्ड निर्माण कार्यमा वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरेका थिए। उक्त मूल्याङ्कन नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन उनीहरूले तयार गरि स्वीकृत गराएका थिए ।

जसबाट ११ लाख ९४ हजार ४२६ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उनीहरूसँग सोही रकम बराबरको बिगो मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

उनीहरुले नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको भनाई छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।