कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै

कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै

कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि संघ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ। डोल्पा र हुम्लामा रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन भइ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि बोलपत्र आह्वान सुरु भएको हो।

हुम्लास्थित मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु गरी काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताए। उनका अनुसार प्रदेश र संघीय सरकारको नौरनौ करोड रूपैयाँ बजेटमा पूर्वाधार निर्माण सुरु हुन लागेको हो।

सिमकोट गाउँपालिका-५ र ६ तथा खार्पूनाथ गाउँपालिका-५ मा पर्यटन पूर्वाधारको काम थालिएको जैशीले बताए। दश किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्र, तीन विद्यालयको भवन निर्माणका साथै खार्पुनाथस्थित शिवमन्दिरको स्तरोन्नति गरिने उनले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापाका अनुसार अध्ययनका लागि बोलपत्र आह्वान गरेर मूल्यांकन गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पठाइएको छ। मन्त्रालयबाट स्वीकृत भएपछि मात्र डीपीआरको काम सुरु हुने उनको भनाइ छ। उपल्लो डोल्पामा पर्ने फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण हुने उनले बताए।

शे-फोक्सुन्डो गाउँपालिका-७ र ८ को बस्तीलाई एकीकृत गरेर विकास गर्न लागिएको थापाले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा नै उक्त कामको सुरुवात हुनेछ। ४० करोड रूपैयाँको काम हुने उनले बताए।

प्रदेशकै गौरवका रुपमा रहेको फोक्सुन्डो तालको संरक्षण र प्रवर्द्धनका लागि ताल किनाराको बस्तीलाई विकास गर्न लागिएको पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए। उनका अनुसार फोक्सुन्डो ताल किनाराको ‘रिग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ।

पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड विनियोजन गरेको शाहीले जानकारी दिए। स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उनले बताए। 'फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन्', पूर्वमन्त्री शाहीले भने, 'तालको दक्षिणी छेउमा रहेको रिग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो।'

तालको संरक्षण गर्ने, धार्मिक महत्वका संरचना निर्माण गर्ने, रिग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख थापाले जनाए। उनका अनुसार बहुवर्षीय योजना भएकाले अहिले सम्भाव्यता अध्ययन भइरहेको छ।

वरिपरि पहाड र बीचमा फोक्सुन्डो ताल छ। डोल्पाको फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो क्षेत्र आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ। समुद्री सतहबाट तीन हजार छ सय ११ मिटर उचाइमा रहेको तालको लम्बाइ चार दशमलव आठ किलोमिटर र चौडाइ एक दशमलव छ किलोमिटर छ। गहिराइ छ सय ५० मिटर छ।

पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेसँगै चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेर काम अघि बढाइएको हो।

शे-फोक्सुन्डो गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा १२ वर्षमा एक पटक लाग्ने गर्दछ। यहाँ आगामी वर्ष उक्त मेला लगाउन स्थानीय सक्रिय भएका छन्। मेलामा देश तथा विदेशबाट पाहुना आउने आयोजकले अपेक्षा गरेका छन्। गाउँपालिकाको मुख्य आयोजनामा हुने उक्त मेलाको सह(आयोजक डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका रहेका छन्।

डोल्पा जिल्लाका अन्य सबै छिमेकी स्थानीय तहसँग मेला सफल पार्न सहकार्य गरिने शे-फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष एवं मेलाको मुख्य संयोजक धावा सम्डुक गुरुङले बताए।

अध्यक्ष गुरुङले मेला आगामी भदौ २ गतेदेखि ५ गतेसम्म माथिल्लो डोल्पाको ‘शे’मा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिए। जिल्लाका सबै सरोकारवाला निकायको साथ र सहयोग लिएर मेलाको आयोजना गरिने उनको भनाइ छ। -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ फागुन २०८०, सोमबार १७ : १३ बजे