भारतीयले नेपालमा खल्ती क्यु आरबाट अन्तरदेशीय डिजिटल भुक्तानी गर्न सक्ने


भुक्तानी सेवा प्रदायक खल्तीले फोनपे सँगको सहकार्यमा भारतीय डिजिटल वालेटबाट पैसा भुक्तान गर्न सक्ने गरी सेवा सुरु गरेको छ ।

नेपाल भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा कार्यन्वयनमा आएसँगै खल्तीले यस्तो सेवा सुरु गरेको हो । अब भारतिय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका २० हजारभन्दा बढी खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई सुधै डिजिटल भुक्तानी गर्न सक्ने छन् ।

खल्तीले नेपालको भुक्तानी नेटवर्क फोनपे पेमेण्ट सर्भिस लिमिटेड र भारतको एनपीसीआई इन्टरनेशनल पेमेण्ट्स लिमिटेडसँगको सहकार्यमा नेपाल भारतबीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।

खल्तीको यो सुविधा अन्तर्गत भारतीय पर्यटकले अब भारतमा प्रचलनमा रहेका फोन पे, बिएचआईएम यूपीआई जस्ता एनपीसीआई अन्तरगतका वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गरी रकम भुक्तानी गर्न सक्छन् ।

यसले नेपाली व्यवसायीलाई भारतीयहरुबाट रकम प्राप्त गर्न सनिलो हुनेछ । भारतिय वालेटबाटै बिल तथा अन्य खर्चको भुक्तानी हुने हुदाँ भारतीय पर्यटकहरूले साटही र कार्डको झनझटबाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यू आर मार्फत भारतिय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृण गर्न सक्ने खल्तीको विश्वास छ ।

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने सबै पूर्वाधार निर्माण गरिसकेको जनाएको छ । यो सुविधा तुरुन्तै संचालनमा ल्याउने र आफूसँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने खल्तीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अबको केहि दिनमा नै नेपाली नागरिकले पनि खल्ती वालेटबाट भारतीय बजारमा क्यु आर स्क्यान गरि भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउने खल्तीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “आफूसँग आवद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तरदेशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा हामी हर्षित छौँ । सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उदेश्यका साथ अगाडी बढि रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढि मर्चेन्ट व्यवसायीहरूलाई यो सुविधा प्रदान गर्न पाउँदा यो चरणलाई कोशेढुंगाको रूपमा लिएको छ । नेपाल भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढावा दिने कुरामा हामी बिश्वस्त छौँ ।”

खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, १ लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा बढी मर्चेन्ट व्यवसायी, ५५ भन्दा बढी बैंक तथा वित्तिय संस्था, १ हजार ५०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको खल्तीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।