नेप्से यो साता ३३.७४ अङ्कले घट्यो, यस्तो छ बजार साप्ताहिक समीक्षा

0
Shares

यो साताको सेयर बजार ३३.७४ अङ्कले घटेको छ । पाँच दिनमा करिब साढे ११ अर्बको कारोबार हुँदा नेप्से परिसूचकमा भने घटेर १९७२ दशमलव ०९ विन्दुमा बन्द भएको हो । आइतबार २००५।८३ विन्दुमा बजार खुलेको थियो । नेप्से परिसूचक घटेसँगै यो साता लगानीकर्ताले सेयर बजारबाट ५३ अर्ब १३ करोड रुपैयाँ गुमाएका छन् । आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा घटेर ३० खर्ब ९९ अर्ब ८६ करोडमा सीमित बनेको हो ।

पाँच दिनमा तीन दिन बजार घटेको थियो भने सोमबार र मंगलबार बजार बढेको हो । आइतबार, बुधबार र बिहीबार बजार घटेको थियो । पाँच दिनमा दैनिक औसत २ अर्ब ३० करोडका दरले कुल ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको ३ करोड २३ लाख ३७ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यो साता हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९९ करोड १ लाख बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ६४ करोड ५९ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको ५४ करोड ८४ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ४५ करोड ३७ लाख, गोर्खाज फाइनान्सको ४३ करोड ७५ लाख, ङादी ग्रुप पावरको ३९ करोड ६० लाख, एनआईसी एशिया बैंकको ३८ करोड ३० लाख र शिवम् सिमेन्टको सेयर यो साता ३८ करोड २९ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

यस्ता छन् कमाउने शीर्ष दश कम्पनी

बजार घटेपनि यो साता केही कम्पनीका लगानीकर्ताले भने यो साता मनग्यै मुनाफा कमाएका छन् । यो साता बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले पनि यो साता ६१.०५ प्रतिशतले नाफा आर्जन गरेका छन् । यसस्ँगै कम्पनीको सेयर मूल्य २१ हजार ६०५ रुपैयाँ १० पैसा पुगेको छ ।

यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य अघिल्लो साताको तुलनामा १७.३४ प्रतिशतले बढेर ७५८ रुपैयाँ पुगेको छ । यस्तै बोटलर्स नेपाल तराईको सेयर मूल्य पनि १७.०४ प्रतिशतले बढेर १६ हजार ३२७ रुपैयाँ पुगेको छ ।

यसैगरी चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले पनि यस साताको बजारबाट १६.९३ प्रतिशतले बढेर ६७० रुपैयाँ पुगेको छ । बिशाल बजार कम्पनीको सेयरमूल्य पनि यो साता १४ प्रतिशतले बढेर ४१६१ रुपैयाँ पुगेको छ । बिपिडब्लू लघुवित्तको सेयर मूल्य ६.४७ प्रतिशत वृद्धि हुँदै प्रतिकित्ता १ हजार ३०० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । सोनापुर मिनरल्सको सेयर मूल्य पनि यो साता ५.१४ प्रतिशतले बढेर ४४० रुपैयाँ पुगेको छ ।

क-कसले गुमाए ?

यो साताको बजारबाट समाज लघुवित्तका सेयरधनीले सर्वाधिक २०.९३ प्रतिशतले गुमाएका छन् । ऋणात्मक इपीएस भएपनि सेयरको आपूर्तिक ८६ हजार कित्ता मात्रै भएपनि पम्पिङ्ग गरेर उचालिएको लघुवित्तको सेयर उच्च घटेको हो । यससँगै समाजको प्रतिकित्ता मूल्य १७२० रुपैयाँ ७० पैसामा झरेको छ ।

यस्तै मेन्छियम हाइड्रोपावरका लगानीकर्ताले पनि १९.२० प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयर मूल्य घटेर ५०५ रुपैयाँमा झरेको छ । यसैगरी जोशी हाइड्रोपावरको सेयर मूल्य पनि यो साता १४.८३ प्रतिशतले घटेर ३५० रुपैयाँ ९० पैसामा आइपुगेको छ । सामलिङ्ग पावरका लगानीकर्ताले १३.७६ प्रतिशत गुमाउँदा प्रतिकित्ता सेयर मूल्य ५८६ रुपैयाँ ४० पैसामा झरेको छ । यस्तै बलेफी हाइड्रोपावरको सेयरको भाउ १३.०१ प्रतिशतले घटेर ३२१ रुपैयाँ कायम भएको छ ।

यो साता मकर जितुमाया सुरी हाइड्रोको सेयर मूल्य पनि ११.८८ प्रतिशतले घटेर ३७१ रुपैयाँमा झरेको छ । घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले पनि यो साता ११.४८ प्रतिशतले गुमाएका छन् । यससँगै कम्पनीको सेयर मूल्य १४५ रुपैयाँ ८० पैसामा झरेको छ । इङ्वा हाइड्रोपावरको सेयर मूल्य सो साता ११.३२ प्रतिशतले घटेर ३२९ रुपैयाँमा झर्दा सामुदायिक लघुवित्तको ११.२३ प्रतिशत घटेर ५६२ तथा त्रिशुली जलविद्युतका लगानीकर्ताले ९.६२ प्रतिशतले गुमाएका छन् । यससँगै कम्पनीको प्रतिकित्ता मूल्य ५०६ रुपैयाँ १० पैसामा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।