नेप्से ११७ अंकले बढेपछि २०७८ बिन्दुमा पुग्यो, यस्ता छन् कमाउने शीर्ष कम्पनीहरु

0
Shares

नेपाली कांग्रेससहितको पाँच दलीय सत्ता गठबन्धन भत्किएर सत्ता समीकरणमा फेरबदल हुने भएपछि नै त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा देखिएको छ । अहिले एकीकृत माओवादी सहितको गठबन्धन रहेकोमा अब कांग्रेसलाई पाखा लगाउँदै अब माओवादीले नेकपा एमाले सहित नयाँ सरकार गठन भएको हो । नयाँ मन्त्रिमण्डलमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ सरकार बनेको हो ।

सरकारको सत्ता घटकको फेरबदलले सोमबार नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेर आज बीचमा नै सेयर कारोबार स्थगित भएको हो । नेप्से ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेपछि सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेर १२ बजेर ४ मिनेरमा नै आज दिनभरका लागि सेयर कारोबार बन्द भएको हो ।

सोमबार सेयर कारोबार खुलेको तीन मिनेटमा ४ प्रतिशतले बढेर पहिलो, ११ बजेर २४ मिनेटमा थप एक प्रतिशत बढेपछि दोस्रो र १२ बजेर ४ मिनेटमा केही सेकेण्डमा नै थप एक प्रतिशत बढेपछि तेस्रो सर्किट लागेको हो । मुस्किलले ४ मिनेट कारोबार भएको बजारमा ३७ करोड ५२ लाख ९ हजार ९७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अवधिमा २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर ३ हजार ८६३ ओटा सङ्ख्यामा किनबेच भएको थियो ।

कारोबारमा आएका म्युचुअल फन्ड बाहेक १२ ओटै उपसमुहगत सूचकमा हरियाली छाएको छ भने जलविद्युत सर्वाधिक ७.८६ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्यको इन्डेक्स ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसअघि गत मंसिर २४ गते, आइतबार नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको थियो। सो दिन १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। त्यसको करिब ३ महिनापछि फागुन २१ गते सोमबार नेप्से परिसूचक ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेर २०७८ बिन्दुमा बन्द भएको हो।

सोमबारको बजारमा सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै ४ करोड ५० लाख ३३ हजार २३९ रुपैयाँ बराबरको ९३ हजार ८७ कित्ता सेयर कारोबार भएको छ । यस्तै हिमालयन रि इन्स्योरेन्सको २ करोड ९९ लाख, शिवम् सिमेन्टको २ करोड ७६ लाख, मोलुङ्ग हाइड्रोपावरको २ करोड २२ लाख र ङादी ग्रुप पावरको १ करोड १ लाखको सेयर कारोबार भएको छ ।

उता आजको बजारमा ४१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२, एनआईबिएल समृद्धि फन्ड–२, एनआईसी एशिया फेक्सी क्याप फन्ड, ग्लोबल आइएमई लघुवित्त, गणपति लघुवित्त सहित पाँच कम्पनीको मूल्य मात्र सामान्य घटेको छ ।
उता आजको बजारमा रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, मेन्छियम हाइड्रोपावर, रिलायबल नेपाल लाइफको दश प्रतिशतले मूल्य बढेको छ । यस्तै एशियन हाइड्रोपावर, बाराही हाइड्रोपावर, जोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, कामना सेवा विकास बैंक, बलेफी हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, दोल्ती पावर, अपि पावर, नेशनल हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर, एनआईसी एशिया लघुवित्त, मनकामना इञ्जिनियरिङ्ग, माथिल्लो मैलुङ्गखोला जलविद्युत, दोर्दीखोला जलविद्युत, बरुण हाइड्रोपावरकाे मूल्य पाैने दश प्रतिशत बढीले वृद्दि भएकाे छ ।

यस्तै ङादी ग्रुप पावर, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स पावर, नेपाल रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, छ्याङ्दी हाइड्रोपावर, सूर्योज्योति लाइफ इन्स्योरेन्स र सामलिङ्ग पावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

यस्तै आजको बजारमा अपर लोहरेखोला, सगरमाथा जलविद्युत, बुटवल पावर, अपर तामाकोशी, युनिभर्सल पावर, माउन्टेन इनर्जी नेपाल, न्यादी हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीको सेयरको भाउ ९ प्रतिशतभन्दा धेरैले बढको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।