माउन्टेन इनर्जी नेपाल लिमिटेडले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न आगामी चैत १३ गते वार्षिक साधारण सभा समेत आह्वान गरेको हो ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सभाको विशेष प्रस्तावबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने २९ करोड ५२ लाख ४ हजार ५० रुपैयाँ बोनस सेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको निमित्त ०.७८९५५ अर्थात १ करोड ५५ लाख ३७ हजार ५७३ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ ।
दशौं वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन, सहित २०८० आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्बद्ध अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै सभाबाट कम्पनी ऐन २०६३ अनुसार आव २०८०–८१ को लागि लेखापरीक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने भएको छ ।
कम्पनीले साधारण सभाको प्रयोजनार्थ फागुन ३० गते बुधबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार फागुन २९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
