सरकारले माग्यो कर नीतिको लागि सुझाव

सरकारले माग्यो कर नीतिको लागि सुझाव

बजेट निर्माणको तयारीमा रहेको सरकारले आगामी आर्थिक वर्षको कर नीतिको लागि सुझाव माग गरेको छ ।  नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले सरोकारवालाहरुसँग सुझाव संकलन गर्न सुरु गरेको हाे । सरकारले संघसंस्था, सरकारी निकाय, बुद्धिजीवी एवं सरोकारवालाहरुसँग सुझाव माग गरिएकाे छ । 

निजी क्षेत्र, सरकारी, निकाय तथा सरोकारवाला सबैले यस सम्बन्धमा सुझाव पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ । राजस्व परामर्श समितिको कार्यालय सिंहदरबार, विषयगत ७ वटा उपसमिति र अर्थ मन्त्रालय मातहतको निकायमा सुझाव दिन सकिने छ । आगामी चैत १० गतेसम्म सुझाव बुझाउन सकिनेछ। 

आगामी जेठ १५ गते सार्वजनिक हुने बजेटमा समावेश हुने आर्थिक ऐनको कर नीतिको लागि अर्थ मन्त्रालय अन्तगर्तको राजस्व परामर्श समितिले सुझाव मागेको हो ।  आर्थिक ऐन तर्जमा गर्दा अबलम्बन गर्नुपर्ने राजस्व नीतिको साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर आयकर, अन्तशुल्क, गैरकर एवम् राजस्व चुहावट लगायत समग्र राजस्व प्रसाशन सुधारको विषयमा सुझाव दिन सकिने जनाइएको छ।

राजस्व परामर्श समितिले सरकारको राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा काम गर्दै आएको छ। समितिले राजस्व प्रणालीमा गर्नुपर्ने सुधारबारे सरोकारवाला क्षेत्र तथा निकायसँग सुझाव लिनेछ र सरकारलाई प्रतिवेदन बुझाउनेछ। समितिको प्रतिवेदनमा सरकारको राजस्व नीति, कर संरचना, अन्तर्राष्ट्रिय कर प्रणाली, कर छुट तथा करमा दोहोरोपना लगायत विषयमा अटाउनेछन्। त्यस्तै, नयाँ कर कानुन बनाउने, कुनै कानुनी व्यवस्था खारेज गर्नुपर्ने भएमा त्यसको सिफारिस गर्ने र करका दर परिवर्तन गर्नेबारे पनि सरकारले यो समितिमार्फत सुझाव लिनेछ।

राजस्व परामर्श समितिको प्रतिवेदन तयार पार्न विभिन्न नौवटा विषयगत उपसमितिहरु गठन गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार  राजस्वसम्बन्धी नीति निर्माणका लागि मन्त्रालयले समितिअन्तर्गत आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति, कृषि ऊर्जा तथा पर्यटन उपसमिति उपसमिति बनाइएको छ।

त्यस्तै, बैङ्क वित्तीय संस्था, बीमा सहकारी तथा पुँजी बजार उपसमिति, गैरकर उपसमिति, अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति, राजस्वसम्बन्धी ऐन नियम, प्रशासनिक सुधार उपसमिति उपसमिति रहेका छन्। यी उपसमितिले क्षेत्रगत अध्ययन गरेर राजस्व परामर्श समितिलाई सुझाव दिनेछन्।

सरकारले राजस्व परामर्शका लागि स्थायी प्रकृतिको संरचना बनाउने भन्दै विकास समिति ऐन २०१३ को अधिकार प्रयोग गरी २०७६ साल माघ २० गते ‘नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश २०७६’ जारी गरेको थियो। सोही गठन आदेशानुसार २०७७ साल भदौ १ गते नेपाल राजस्व परामर्श समिति गठन भयो। तर, गत साउन १० गतेको मन्त्रिपरिषद् बैठकबाट उक्त खारेज भएपछि अर्थ मन्त्रालयभित्रकै संरचनाले यसको काम गर्न थालेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ फागुन २०८०, सोमबार १८ : ५६ बजे