खानीखोला हाइड्रोपावरले माग्यो साढे ४६ करोडको हकप्रद अनुमति

0
Shares

खानीखोला हाइड्रोपावर कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको हकप्रद निष्कासनको अनुमति माग गरेको छ ।

कम्पनीले एक बराबर एक अनुपात (१ः१) मा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको हो । नेपाल धितोपत्र बोर्डमा कम्पनीले फागुन १७ गते निवेदन दिएको छ ।

उक्त हकप्रद बिक्री मार्फत संकलन हुने ४७ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ कम्पनीले बैंकको ऋण तिर्नका लागि खर्च गर्ने जनाएको छ ।
हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ९५ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।

खानीखोला हाइड्रोपावरको पुस ४ गते सम्पन्न भएको दशौं तथा एघारौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसअघि नै कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद ल्याउन पूर्व स्वीकृति लिइसकेको थियो ।

कम्पनीको ललितपुरमा टुगुंन–ठोस्ने र खानीखोला जलविद्युत आयोजना क्रमशः ४. ३६ मेगावाट र २ मेगावाट क्षमताको सञ्चालनमा छन् । यसले २०७३ मंसिरबाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।

वित्तीय अवस्था कमजोर

कम्पनीको वित्तीय अवस्था नाजुक भएसँगै कम्पनीले सेयरधनीबाट रकम उठाएर ऋण तिर्ने अवस्थामा पुगेको हो । अघिल्लो आवमा दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख ३७ हजार नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १ करोड ४८ लाख ३७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । बिद्युत बिक्री आय घटेर खर्च बढेपछि कम्पनीको मुनाफामा असर पुगेको हो ।

गत आर्थिक वर्षको दोस्रो माससम्म कम्पनीको विद्युत बिक्रीबाट १० करोड ६६ लाख रुपैयाँ आम्दानी गरेकोमा गत पुससम्म१० करोड मात्र गरेको छ। यस्तै प्रशासनिक र सञ्चालन खर्च बढेको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीको जगेडा कोष २ करोड १५ लाख ३४ हजार रुपैयाँ ऋणात्मक भएकोमा हाल बढेर ५ करोड २८ लाख ४७ हजार पुगेको छ। गत आवो यसै अवधिमा रहेको ९५.३८ रुपैयााँ प्रतिसेयर नेटवर्थ घटेर ८८.६५ रुपैयाँमा आइपुगेको छ ।

कम्पनीसँग ७८ करोड ५८ लाख रुपैयाँ दीर्घकालीन ऋण तथा १५ करोड ७१ लाख रुपैयाँ बराबरको ब्यापार र अन्य तिर्नुपर्ने अल्पकालीन दायित्व छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।