सामुदायिक र विपिडब्लु लघुवित्तको एकीकृत कारोबार सुरु

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन २४ बिहीबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गरेका छन् ।दुई लघुवित्तको मर्जर सम्पन्न भए पश्चात सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाण्डौंबाट फागुन ८ गते गाभ्ने–गाभिने (मर्जर) गर्ने सम्बन्धमा अन्तिम स्वीकृती दिएको थियो । यस्तै लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मिति २०८० माघ २४ गते र नेपाल धितोपत्र बोर्डबाट २०८० फागुन ९ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति प्राप्त गरेको थियो ।सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । 

एकीकृत कारोबार सञ्चालनका लागि २०८० असोज ३० गतेको विशेष साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेका थिए । एकीकृत कारोबारसँगै बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि फागुन २४ बिहीबारदेखि दुबै कम्पनीको १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का भएको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को निर्देशन ९ बमोजिम मर्जर पन्ध्र दिन कारोबार रोक्का हुने व्यवस्था छ ।

सामुदायिक र बिपीडब्लु लघुवित्त १००ः८५.३५ को अनुपातमा मर्जरमा गएका हुन् । जसअनुसार सामुदायिक लघुवित्तका १०० कित्ता सेयर हुने शेयरधनीले १०० कित्ता नै सेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले ८५।३५ कित्ता सेयर पाउने छन् । मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।