मुलुकुको बाह्य क्षेत्रमा उत्कृट सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार चालु खाता साढे एक अर्बमाथि बचतमा हुँदा शोधनान्तर बचत ३ खर्ब हाराहारीमा पुगेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।
यस अवधिमाचालु खातासँगै शोधनान्तर स्थिति पनि सकारात्मक देखिएको छ । हाल शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई ३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो । सो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिना अवधिमा १९.९० प्रतिशतले वृद्धि भई १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
