नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुग्यो, साढे ८२ अर्बको धितोपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको संख्या २०८० माघ मसान्तमा २७१ पुगेको छ । विसं २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

विसं २०७९ माघ मसान्तमा २१२१.८७ रहेको नेप्से सूचकाङ्क २०८० माघ मसान्तमा २०.७१ अंकले घटेर २१०१.१६ कायम भएको छ । २०८० माघ मसान्तमा धितोपत्र बजार पँुजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ । विसं २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रहेको थियो । एक वर्षमा कुल बजार पूँजीकरण २ खर्ब ४० अर्ब ८८ करोड रुपैयाँले बढेको हो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५० प्रतिशत रहेको छ ।

२४ अर्ब ७८ करोडको आईपीओ अनुमति, ८२ अर्ब ५७ करोडको धितोपत्र सूचीकृत

आर्थिक वर्ष २०८०÷८१ को ७ महीना अवधिमा नेप्सेमा कुल ८२ अर्ब ५७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । माघ मसान्तसम्म ६५ अर्ब ८६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), १० अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँको एफपीओ सूचीकृत भएको हो ।

यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब २ करोड रुपैयाँको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फण्ड रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० माघ मसान्तमा सूचीकृत ८ अर्ब २१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब १३ अर्ब ५९ करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।