अर्थमन्त्री पुनले मागे पुँजी बजारका नियामकसँग बजार सुधारको कार्ययोजना

0
Shares

अर्थमन्त्री वर्षमान पुनले पुँजीबजार सम्बद्ध तीन वटा निकायसँग बजार सुधारको कार्ययोजना मागेका छन् । अर्थमन्त्री पुनको निर्देशनमा आइतबार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग यस्तो कार्ययोजना माग गरेको हो ।

मन्त्रालयकी शाखा अधिकृत शारदा पौडेलले पठाएको पत्रमा पूँजी बजार सुधारका लागि तत्काल गर्नुपर्ने कामको सन्दर्भमा सरोकारवालाहरुसँग राय लिई ७ दिनभित्र कार्ययोजना पेश गर्न भनिएको छ । अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामको मत सरोकारवालासमेतको राय लिइ ७ दिनभित्र कार्ययोजना पेस गर्न मन्त्रीको निर्देशन अनुसार अनुरोध छ, पत्रमा उल्लेख छ।

फागुन २३ गते बुधबार अर्थमन्त्री भएका पुनले पुँजी बजारका ६० लाख लगानीकर्ताप्रति आफ्नो ध्यान रहेको भन्दै यसको नीतिगत तथा संरचनागत सुधारका लागि पहल गर्ने बताएका थिए । सोही अनुसार उनले कामको सुरुवात गरेका हुन् ।

सेयर लगानीकर्ता सकारात्मक बन्दा पुनले अर्थ मन्त्रालय सम्हालेदेखि सेयर बजार उकालो लागिरहेको छ। पदवहालीका क्रममा दिएको अभिव्यक्तिका कारण मन्त्री पुनले सुधारको कदम चाल्ने लगानीकर्ताको विश्वास छ । उनले आइतबार ब्रोकरहरुसँगको भेटमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर नीतिगत रूपमा बजारमा सुधारको कदम चाहने प्रतिवद्धता जनाएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।