फजुल खर्च रोक्दा प्रधानमन्त्रीले प्रतिशोध साँधेः प्रकाशशरण महत

0
Shares

नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले फजुल खर्च रोकेका कारण प्रधानमन्त्रीले आफूमाथि प्रतिशोध साँधेको आशय व्यक्त गरेका छन् ।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तामा जानेबित्तिकै बजेटलाई जे गरे पनि हुन्छ भन्ने मान्यता आफूले तोडेको बताए । अर्थमन्त्रीको रुपमा आफूले अर्थतन्त्रलाई लयमा फर्काएको समेत महतको दाबी छ ।

डा. महतले निर्वाचनपश्चात् तीनपटक गठबन्धन बदल्ने काम प्रधानमन्त्री प्रचण्डबाट भएको उल्लेख गर्दै निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र जनताले दिएको ‘म्यान्डेट’ लत्याएको आरोप लगाए । ‘म एभरेज उपलब्धिमा सन्तुष्ट छैन, माथि उपलब्धि हासिल गर्न चाहन्थेँ भन्नुभएको छ, यसमा पनि आधार छैन । बहानाबाजी थियो,” महतले भने, ‘स्रोत जुटाउन गाह्रो थियो । साधारण खर्च, फजुल खर्च गरिनु हुन्न भन्ने थियो । सहायता जथाभाबी बाँड्न भएन भन्नु पाप हो र ?’

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले संसद्को रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्री प्रचण्डले लगाएको आरोप कपोकल्पित र बहानाबाजीभन्दा केही नभएको जिकिर गरे । कपोलकल्पित बहानाबाजी गरेर प्रचण्डले गठबन्धन तोडेको उनको भनाई छ । कांग्रेसबाट मन्त्री बनेकाहरूले आफूलाई सहयोग नगरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आरोपको महतले खण्डन गरे ।

माओवादी–कांग्रेस गठबन्धन टुट्नुमा मन्त्रीहरूको कुनै हात नरहेको जिकिर उनको थियो । पार्टीको महासमिति बैठकबाट निर्णय नै गरेर गठबन्धन बलियो र गठबन्धनलाई सुदृढ बनाएर निरन्तता दिने निर्णय भएपनि प्रचण्डले आरोप लगाएर गठबन्धन भत्काएको उनको भनाइ छ । यस विषयमा पार्टीको कार्यसम्पादन र संसदीय दलको बैठक बसेर गठबन्धन बदल्ने निर्णय बेइमानी र विश्वासघात भएको निष्कर्ष निकालिसकेको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।