नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको बोनसमा सेयरमा मूल्य समायोजन भएको छ । बुधबार बुकक्लोज तोकेका नेशनल लघुवित्त र माउन्टेन इनर्जीको नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ भाउ तोकेको हो ।
नेशनल लघुवित्तको ७.५० प्रतिशत बोनस समायोजनपछि नेप्सेले प्रतिकित्ता ११३४ रुपैयाँ ८८ पैसा मूल्य तोकेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १२२० रुपैयाँमा अन्तिम पटक खरिद बिक्री भएको थियो । मंगलबारको अन्तिम मूल्यमा प्रस्तावित बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
यस्तै आजै माउन्टेन इनर्जी नेपाल लिमिटेडको पनि १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि नेप्सेले प्रतिकित्ता ५५७ रुपैयाँ ३९ पैसा मूल्य तोकेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ६४१ रुपैयाँमा अन्तिम पटक खरिद बिक्री भएको थियो । मंगलबारको अन्तिम मूल्यमा प्रस्तावित बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
आज समायोजन भएको भाउलाई आधार मानेर बुधबार दुबै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । दुबै कम्पनीको लाभांश आज फागुन २९ गते मंगलबारसम्म खरिद गरी सेयरधनी कायम भएका लगानीकर्ताले मात्र पाउनेछन् । बुधबार समायोजन मूल्यमा सेयर खरिद गर्ने लाभांशको हकदार हुनेछैनन् ।
नेशनल लघुवित्त वित्तीय संस्थाले चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजन सहित ७.५० प्रतिशतले हुन आउने ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले ६ लाख ६९ हजार ९०० दशमलव २७ कित्ता एफपीओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालले चैत १३ गते, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे सुरु सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
