नाफा सुरक्षित गर्ने होडले नेप्सेमा सामान्य करेक्शन, यस्तो छ बजार समीक्षा

0
Shares

सेयर बजारमा बुधबार सामान्य करेक्शन आएको छ । मंगलबार ५८.५८ अंकले बढेको बजारबाट भएको अल्पकालीन लगानीकर्ताको नाफा सुरक्षित गर्ने होडका कारण आज नेप्से सामान्य घटेर बन्द भएको हो ।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा अडिएको छ । मंगलबार ५८.५८ अंक बढेर २१११.२१ विन्दुमा थियो । बुधबार तीव्र उतार–चढावपूर्ण रहेको बजारमा सुरुवाती २ मिनेटमा नै नराम्रोसँग खस्किएको थियो । २० मिनेटपछि उकालो लागेको बजारमा उच्च बिक्री चाप र खरिद चापको द्धन्द्धले पटक–पटक हरियो रातो हुँदै थोरै अंक घटेर बन्द भएको हो ।

यस दिन कारोबारमा आएका उपसमुहगत सूचक मिश्रित देखिएका छन् । १३ ओटामध्ये ७ ओटा घटेको छ भने ६ ओटा बढेको छ । होटल तथा पर्यटनमुलक सर्वाधिक १.१४ र जलविद्युत १.०९ प्रतिशतले घटेको बजारमा निर्जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, ब्यापार, बैंकिङ्ग, र लगानीको इन्डेक्स पनि घटेका हुन् । उता फाइनान्सको इन्डेक्स सर्वाधिक २.३२ प्रतिशतले उकालो लागेको छ भने अन्य, लघुवित्त, म्युचुअल फन्ड, विकास बैंक र जीवन बीमा पनि सामान्य बढेका छन् ।

बजारमा सामान्य करेक्शन आएपनि नयाँ अर्थमन्त्री वर्षमान पुनको नियुक्तिसँगै बढेको नेप्सेको वृद्धिले निरन्तरता पाउनेमा सेयर बजारका लगानीकर्ता भने आशावादी नै देखिन्छन् । नवनियुक्त अर्थमन्त्रीले लगानीकर्ताहरुको मनोबल उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेसँगै बजार उकालो लाग्न सुरु भएको थियो । यहि बीचमा अर्थमन्त्रीले एक साताभित्र पेश गर्नेगरी पुँजी बजारका नियामकहरुसँग पुँजी बजार सुधारका लागि सुझाव मागेका छन् । यहि काराण पुँजी बजारका समस्या समाधान हुने अपेक्षामा बजार बढ्दै आएको छ ।

नेप्सेमा गिरावट आएपनि कारोबार रकमले साथ दिएको छ । आज पनि चार अर्बमाथि कारोबार भएको छ । बुधबार ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार ३०५ स्टकको १ करोड ६ लाख ९ हजार कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

बजार घटेपनि बुधबार चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । वीन नेपाल लघुवित्तको सर्वाधिक ९.९९ प्रतिशतले बढेको बजारमा उन्नति सहकार्य लघुवित्तको ९.५८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ९.२२ प्रतिशत र समाज लघुवित्तको ९.०३ प्रतिशतले बढेको हो । जनउत्पादन सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, गुरासँ लघुवित्त, गणपति लघुवित्त, धौलागिरी लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावर शीर्ष मूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् । दशौं धेरै बढेको ग्रीन लाइफ हाइड्रोपावरको ६.६२ प्रतिशतले सेयर मूल्य उकालो लागेको छ ।

उता बुधबारको बजारमा अपर तामाकोशीको शतप्रतिशत बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सूचीकृत भएर सेयरधनीको खातामा आएपछि नकारात्मक सर्किट लागेर मूल्य घटेको छ । यससँगै मूल्य १८३ रुपैयाँ ६० पैसामा झरेको हो । दोर्दीखोला जलविद्युतको ४.५७ प्रतिशत, सिद्धार्थ इक्वीटी फन्डको ३.२० प्रतिशत, बलेफी हाइड्रोपावरको ३.०९ प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–२ को इकाई मूल्य २.९९ प्रतिशतका दरले घटेको छ ।

दैनिक कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ। सो कम्पनीको २५ करोड ५३ लाख ८३ हजा रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी सोनापुर मिनरल्स एण्ड आयलको २० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ६३ लाख, अपर तामाकोशीको १५ करोड ५४ लाख र गोर्खाज फाइनान्सको १३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको बजार घटाइपछि कुल बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६२ करोड ९६ लाख ८० हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन मंगलबार कुल बजार पुँजीकरण ३३ खर्ब १८ अर्ब ५४ करोड २२ लाख रुपैयाँ थियो । आज मात्रै ३ अर्ब ९१ करोड २६ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।