धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाद्धारा दाबेदारी प्रस्तुत

0
Shares

नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि अन्तिम दिन बुधबारसम्ममा १९ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।  रिक्त अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ, तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी र बाेर्डका कार्यकारी निर्देशक कृष्णराज पोख्रेल सहित १९ जनाको आवेदन परेको हो ।

मंगलबार चार जनाको आवेदन परेकोमा बुधबार मात्रै १५ जनाको थप आवेदन परेको हो । यी आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका हुन् । बुधबार आवेदन दिनेहरुमा धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, नेप्सेकै कर्मचारी उपप्रबन्धक प्रबिण पन्दाक, बजार विश्लेषक डा. केशव प्रसाद श्रेष्ठ, लगानीकर्ता तथा विश्लेषक मुक्ति अर्याल, राष्ट्रिय बीमा संस्थानका पुर्व प्रमुख प्रशासक शिवराम श्रेष्ठ, सेयर बजारका जानकार  रघु काफ्ले, प्रोभिडेन्ट मर्चेन्ट बैंकिङका सीईओ बिमल तिवारी लगायत रहेका छन् ।

बोर्डको अध्यक्ष चयनका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र शंकरदेव क्यापसका प्राध्यापक विज्ञ सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

सिफारिस समितिले बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि फागुन १६ गते १५ दिनको समय राखेर दरखास्त आह्वान गरेको थियो । सिफारिस समितिले आवेदन दिएका १९ मध्येबाट पाँच जनाको नाम छनोट गरी पठाउनेछ । अर्थ मन्त्रालयले पाँचमध्ये तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाउनेछ ।

सर्टलिस्टमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । रमेशकुमार हमालको कार्यकाल गत पुस २० गते सकिएपछि विगत साढे दुई महीनादेखि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।