सानिमा जीआईसीको हकप्रद निष्काशन प्रस्ताव सहित साधारण सभा आह्वान

0
Shares

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्ने मुख्य प्रस्ताव सहित यहि चैत २९ गते साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे अमृतभोग कालिकास्थान काठमाडौंमा सभा आह्वान गरेको हो ।

इन्स्योरेन्सले डाकेको छैठौं वार्षिक साधारण सभामा कम्पनीले सेयरधनीलाई वितरण गर्ने कुनैपनि लाभांश वितरण सम्बन्धी प्रस्ताव छैन । आव २०७९–८० बाट कम्पनीले लाभांश नदिने भएको हो ।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत बराबरले हुन आउने ५० करोडको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतीको लागी पेश हुँदा नियमनकारी निकाय वा सम्बन्धित कार्यालयबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव सभाले पारित गर्नेछ ।

सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सानिमा जीआईसी इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदन सहित आव २०७९–८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित हुनेछ ।

साथै सभाले मर्जरपुर्वको साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को वासलात (२०७९ साउन १ गतेदेखि २०७९ कार्तिक ६ गतेसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने छ ।

सभामा कम्पनी ऐनको बमोजिम आर्थिक वर्ष २०७९–८० मा भएको खर्चको अनुमोदन गर्ने, कम्पनी ऐन बमोजिम आर्थिक वर्ष २०८०–८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको) प्रस्ताव पारित गर्ने प्रस्ताव छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । बुकक्लाेज अनुसार चैत १४ गते बुधबारसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।