ठमेल र दरबामार्गको बजार २४ घण्टा खुलाउने तयारी


काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बजार खुलाउने तयारी थालिएको हो ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने बताइएको छ ।

“आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख १) गते भित्रै बजार २४ घण्टा खुल्ला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।”

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमिक रुपमा २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।