
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै १४ लाख ९७ हजार रुपैयाँ ठगी गर्ने पाँच जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले चैत ९ गते शुक्रबार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ८ का ३५ वर्षका युवराज सापकोटा, काठमाण्डौ बुढानिलकण्ठको १९ वर्षकी श्रृति शाही, तारकेश्वर १६ काठमाण्डौकी ३५ वर्षकी मन्दिरा बोम्जन गुरुङ, टिकापुर कैलालीकी २६ वर्षकी अस्मिता बम र सुनसरीको भोक्राहा गाउँपालिकाकी ३० वर्षकी अनिता कुमारी यादवलाई पक्राउ गरेको हो ।
पीडीहरुले दिउको जाहेरीमा अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेका पाइएपछि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई आफूहरु सम्पर्क बिहीन भएका थिए ।
काठमाण्डौं बौद्धमा बस्दै आएका युवराज सापकोटाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै जितमाया बलबाट ९० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । यस्तै श्रृति शाहीले कुमार खड्कालाई मकाऊ पठाइदिने प्रलोभन देखाएर ३ लाख ९३ हजार रुपैयाँ र मन्दिरा बोम्जन गुरुङले ३लाख ९३ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी हाल कोटेश्वर बस्दै आएकी अस्मिता बमले कृष्ण चन्द समेत ३ जनाबाट कोरिया पठाइदिने आश्वासन दिएर ५ लाख ७१ हजार रुपैयाँ र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ बस्दै आएकी अनिता कुमारी यादवले राम माया तामाङलाई कतार पठाइदिने भन्दै ५० हजार रुपैयाँ लिएर सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
