सर्वोत्तम सिमेन्टको कुल कारोबारको ८० प्रतिशत सेयर नेपाल स्टक हाउसले किन्यो


बुक विल्डिङ प्रणालीबाट पहिलो पटक सर्वसाधारणमा सेयर जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा कारोबारमा आएको ४ दिन भएको छ । प्रत्येक दिन १० प्रतिशतले सेयर मूल्य बढेको कम्पनीको ४ कारोबार दिनमा ३८ हजार ९७८ कित्ता सेयर कारोबार भएको छ ।

गत मंगलबार प्रतिकित्ता सेयर ५५६ रुपैयाँमा पहिलो पटक कारोबारमा आएको कम्पनीको सेयर प्रत्येक दिन १० प्रतिशतको वृद्धिसँगै सोमबार ८१३ रुपैयाँ ८० पैसामा अन्तिम पटक किनबेच भएको छ । कारोबार सुरु भएको दिनदेखि सोमबारसम्ममा कम्पनीको सेयर मूल्य ४६.३६ प्रतिशतले बढेको हो ।

गत मंगलबार ५५६ रुपैयाँमा कारोबार खुलेकोमा ६११ रुपैयाँ ६० पैसामा कारोबार बन्द हुँदा २ हजार ४४२ कित्ता सेयर किनबेच भएको थियो । बुधबार ६७२ रुपैयाँ ७० पैसामा कारोबार बन्द हुँदा २ हजार २५६ कित्ता सेयर कारोबार भएकोमा बिहीबार ७३९ रुपैयाँ ९० पैसामा कारोबार बन्द हुँदा ७ हजार ३९५ कित्ता सेयर कारोबार भएको थियो ।

चौथो दिन सोमबार ८१३ रुपैयाँ ८० पैसामा अन्तिम पटक कारोबार हुँदा सर्वोत्तम सिमेन्टको २६ हजार ८८५ कित्ता सेयर कारोबार भएको छ । कुल ६३० पटकको किनबेचबाट सर्वोत्तमको २ करोड १८ लाख ७० हजार ८६६ रुपैयाँको कारोबार भएको छ ।

उल्लेखित कारोबारमा सेयर स्टक ब्रोकर नम्बर १४ (नेपाल स्टक हाउस) ले सर्वोत्तमको सबैभन्दा धेरै सेयर खरिद गरेको छ । उक्त ब्रोकरले मात्र सोमबार २१ हजार ४४८ कित्ता सेयर खरिद गरेको हो । कारोबारमा आएको कुल सेयर संख्याको तुलनामा १४ नम्बरले ७९.७८ प्रतिशत सेयर खरिद गरेको हो ।

६३० मध्ये ४८८ वटा कारोबार १४ नम्बर ब्रोकरबाट नै भएको छ । सोमबार सर्वोत्तमको कुल २ करोड १८ लाख ७० हजार ८६६ रुपैयाँको सेयर कारोबार भएकोमा १४ नम्बरले मात्र १ करोड ७४ लाख ८६ हजार ९१९ रुपैयाँको सेयर खरिद गरेको हो ।

हालसम्म कारोबारमा आएको ३८ हजार ९७८ कित्ता सेयरको आधारमा हेर्दा पनि सोमबार मात्र १४ नम्बर ब्रोकरले सर्वोत्तमको ५५ प्रतिशत सेयर खरिद गेको देखिन्छ । सोमबारभन्दा अघिका ३ कारोबार दिनमा १४ नम्बर ब्रोकरले जम्मा ६० कित्ता मात्र सेयर खरिद गरेको थियो ।

गत फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणमा ३६० रुपैयाँ ९० पैसाको दरमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बुक विल्डिङ प्रणालीबाट निष्काशन गरेको थियो । जसमा ५५ हजार ५२१ जना सर्वसाधारणले ५० कित्ताको दरमा सेयर पाएका थिए ।

सर्वसाधारणमा १२.९ प्रतिशतले हुने कुल ६० लाख कित्ता सेयर निष्काशन गरेकोमा संस्थागत योग्य लगानीकर्ताहरुलाई बिक्री पश्चात बैदेशिक रोजगारीमा गएकाहरुलाई निष्काशन गरेर बाँकी सेयर सर्वसाधारणलाई बाँडफाँड भएको थियो । संस्थागत योग्य लगानीकर्ताहरुले कम्पनीको प्रतिकित्ता सेयर ४०१ रुपैयाँको दरमा खरिद गरेका थिए ।

कम्पनीमा संस्थापकहरुको ८७.१ प्रतिशत र सर्वसाधारणको १२.९ प्रतिशत गरी कुल ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी छ । यस आधारमा ४ करोड ६५ लाख कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएकोमा सर्वसाधारणतर्फ ६० लाख कित्ता मात्र सेयर छ ।

सोमबारको सेयर मूल्यका आधारमा कम्पनीको बजार पुँजीकरण ३७ अर्ब ८४ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

नवलपरासीको सुनवल ११ जोडेनीमा रहेको उद्योगबाट कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

कम्पनीको सेयर प्रबन्धकमा एन आई एम बि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।