सरकारी ट्रेजरी र ऋणपत्रको निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने

0
Shares

अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंक मार्फत सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्सको बोलकबोल हुँदै आएको चैत्र १९ गतेदेखि कार्यालयबाट हुने भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन ऐन २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन विनियमावली २०८० कार्यान्वयनमा आएसँगै आन्तरिक ऋणसँग सम्बन्धित ऋण निष्कासन तथा भुक्तानी कारोबार नेपाल राष्ट्र बैंकसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरबाट हुनेछ ।
साथै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय डिओएमएस (DOMS) को आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरूले डिओएमएस र ओबिएसएस (OBSS) दुवैमा बोलकबोल पेश गर्नु पर्नेछ ।

सरोकारवालाहरुबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै सो काम गर्नुपर्ने आवाज उठ्दै आए पनि केन्द्रीय बैंकले नै लामो समयदेखि ऋणपत्रको बोलकबोलको गर्दै आएको थियो । अब भने कार्यालयबाटै हुने भएको हो ।

यसअघि आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकमार्फत हुँदै आएको थियो भने बाह्य तथा आन्तरिक ऋणको व्यवस्थापन महालेखा नियन्त्रण कार्यालयको ऋण तथा लगानी शाखाले गर्दै आएको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राष्ट्र बैंक, महालेखा नियन्त्रण कार्यालय र अर्थमन्त्रालय तीन क्षेत्रको काम एकीकृत रुपमा हुनेछ ।

कार्यालयले सरकारको वित्तीय नीति र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समेत सार्वजनिक ऋण व्यवस्थापनमा सहयोग गर्ने छ ।सार्वजनिक ऋण नीतिको मस्यौदा तयार पार्ने, ऋणपत्र दोस्रो बजारको कारोवार व्यवस्थापन गर्ने, सरकारी जमानतको अभिलेख व्यवस्थापन, जमानती कमिसन असुल गर्ने, जमानतसम्बन्धी सम्झौता प्राप्त गरी अध्यावधिक गर्ने, सार्वजनिक ऋण तथा लगानीको अध्ययन अनुगमन र प्रकाशन गर्ने कार्यभार समेत कार्यालयको हो ।

छ वर्ष अघिदेखि नै प्रयास थालेर २०७५ मंसिरमा कार्यालय स्थापना गरिएको भएपनि कार्यालयले पूर्ण रुपमा तोकिएको काम गर्न सकेको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।