गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार, राम्रो आम्दानी गर्दै व्यापारी

0
Shares

गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ। गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन्।

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ।

गाईघाट बजार पिलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए। चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याएर गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए।

चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ। प्रतिकिलो ४० देखि ६० रूपैयाँ सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम ८० रूपैयाँदेखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन्। गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन्। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।