हिमाल आरोहण अनुमतिबाट एक महिनामा साढे १० करोड रोयल्टी संकलन

0
Shares

पछिल्लो एक महिनामा मार्चमा हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म १० करोड ५५ लाख ९१ हजार ४०० रुपैयाँ रोयल्टी संकलन भएको छ । १७ टिमका १४८ आरोहीबाट सो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष १०६ जना र महिला ४२ जना रहेका छन्। पछिल्लो एक महिना अर्थात मार्च महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य ९ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ।

सबैभन्दा बढी रोयल्टी भने सगरमाथा हिमाल आरोहण अनुमतिबाट उठेको छ। सगरमाथाबाट मात्रै ९ करोड २२ लाख २१ हजार २५० रुपैयाँ रोयल्टी संकलन भएको छ। सगरमाथा हिमाल आरोहणका लागि ५ समूहका ६३ जनाले अनुमति लिएका छन्। त्यसैगरी अन्नपूर्ण हिमाल आरोहणबाट ५९ लाख ६१ हजार ७८० रुपैयाँ रोयल्टी संकलन भएको छ। उक्त हिमाल आरोहणका लागि ३ समूहका २५ जनाले अनुमति लिएका छन्।

मार्च महिनामा आमाडब्लम, हिमलुङ हिमाल, जुगल, अन्नपूर्ण, सगरमाथा, कन्चनजंगा, धौलागिरी लगायतका हिमाल आरोहणका लागि १४८ जनाले अनुमित पाएका हुन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।