बागमतीका मेयर भरत थापाविरुद्द अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर

0
Shares

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको स्रोत खुल्न आएको कुल आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट एकासगोल परिवारका सदस्यहरू श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाइ राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती, भाइ र बुहारीको नाममा घरजग्गा खरिद गरेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरू रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारिका राउतलाई प्रतिवादी कायम गरेको छ । उनीहरूको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिबाट बिगो जफतरअसुल उपर गरी पाउनसमेत मागदाबी लिइएको प्रवक्ता घिमिरेले बताए ।

माओवादीका थापा यस कार्यकालका लागि पनि मेयर निर्वाचित भएका छन् ।

मेयर भरत थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९ वटा उजुरी परेका थिए। उजुरीमा नगरपालिकामा भएका ९० प्रतिशत कालोपत्रे सडकको काम उपभोक्ता समितिमार्फत र ग्राभेलको काम उपभोक्ता समिति बनाएर गरेको, पिचको सबै काम मेयरले आफ्ना व्यापारिक साझेदार राममकृष्ण केसीलाई दिएर अनियमितता गरेको दाबी छ। अवैधानिकरुपमा उपभोक्ता समिति गठन गरेर नक्कली तथा फर्जी विवरणको आधारमा भुक्तानी लिने गरेको, माइन्यूट तथा डोरहाजिरीमा किर्ते हस्ताक्षर गरेको व्यापक भ्रष्टाचार गरेको आरोप थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।