सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा : श्रममन्त्री अर्याल

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

‘डेमोक्रेसी मिडिया नेटवर्क’ले आज काठमाडौंमा आयोजना गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्नेमा जोड दिए। उनले रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने बताए।

‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ। निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छु, मन्त्री अर्यालले भने, ‘त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय सधैँ तयार छ।’

आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उनको भनाइ थियो। ‘मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ। त्यहाँ हामीले ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्ने योजना बनाएका छौँ। त्यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत रहेको सीटीईभीटीसँग पनि समन्वय गरी हरेकलाई सीप सिकाउनुपर्छ भन्नेमा हामी छौँ’, उनले भने।

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहे पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन मन्त्री अर्यालले सबैलाई आग्रह गरे। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।